झापामा एक भारतीय नागरिकसहित चार जना ब्राउन सुगरसहित पक्राउ
झापा । झापामा एक भारतीय नागरिकसहित चार जना लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । झापा प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बुधवार दिउसो सवा २ बजे भद्रपुर नगरपालिका- ३ स्थित झोलुङ्गे पुलबाट भारतबाट नेपाल तर्फ आउँदै गरेको भारत पश्चिम बङ्गाल दार्जिलिङ थाना खोरीबारी भेलकोजोत निवासी ४२ वर्षीय निखिल विश्वासलाई ३ ग्राम ८०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
त्यस्तै लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले बुधवार बेलुका ७ बजे बिर्तामोड नगरपालिका- २ स्थित चारपानेबाट सोही ठाउँका ३६ वर्षीय बद्री राजवंशीलाई ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
बुधवार राती ८ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका- ९ स्थित ईटाभट्टाबाट २९ प २२३४ नम्बरको मोटरसाइकलमा सवार गौरादह नगरपालिका १ बस्ने ३३ वर्षीय भीमबहादुर श्रेष्ठ र सोही ठाउँका ३२ वर्षीय मोहन सिलवाललाई २५ ग्राम ब्राउन सुगर र नगद १० हजार सहित पक्राउ गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको डीएसपी पाठकले बताए ।