२०८३ बैशाख १९ गते , शनिबार

मोटरसाइकल चोर्ने गिरोहका छ जना पक्राउ

sajilo news
झापा
२०७९ श्रावण २३ गते , सोमबार
मोटरसाइकल चोर्ने गिरोहका छ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय भोजपुरले मोटरसाइकल चोरीमा संलग्न छ जनालाई पक्राउ गरेको छ । यहाँबाट हराएका चार मोटरसाइलसहित उनीहरूलाई प्रहरीले सार्वजनिक गरेको हो ।

रातको समयमा पार्किङ गरेको ठाउँबाट चोरी गरेर बाहिरका जिल्लामा लैजाने गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । प्रहरीले गत असार १० गते भोजपुरको पौवादुङमा गाउँपालिका श्यामशिलाका राजेन्द्र तामाङको चोरी भएको मोटरसाइलसहित खाँदबारी नगरपालिका १० बस्ने २६ वर्षीय निराजन गौतम र २५ वर्षीय टीकाराम तिवारीलाई पक्राउ गरेको हो ।

त्यस्तै असार २३ गते अरुण गाउँपालिकाबाट हराएको फत्तसिं राईको मोटरसाइलसहित सङ्खुवासभाको पाँचखपन नगरपालिका २ का २३ वर्षीय रविकिरण राईलाई पक्राउ गरेको हो । त्यसैगरी जेठ ८ गते भोजपुरको देउरालीबाट स्थानीय बालम राईको चोरी भएको मोटरसाइकलसहित सङ्खुवासभाको खाँदबारी नगरपालिका ७ बस्ने २५ वर्षीय मौसम तामाङ र सभापोखरी गाउँपालिका ३ का २८ वर्षीय उपेन्द्र तामाङ पक्राउ परेका हुन् । त्यस्तै भोजपुर बजारमा पार्किङ गरेको ठाउँबाट गिरेन्द्र खड्काको मोटरसाइल चोरी गर्ने खाँदबारी नगरपालिका १ का ४० वर्षीय रोहितमान राईलाई प्रहरीले सार्वजनिक गरेको छ ।

उनीहरूले सङ्खुवासभाका दुर्गम ठाउँमा लगेर नम्बरप्लेट तथा पार्टपुर्जा परिवर्तन गरेर मोटरसाइकल चलाएको पाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए । चोरीका मोटरसाइकल २५ हजारदेखि ७० हजारसम्ममा बिक्री गरेको पाइएको उनको भनाइ छ । प्रहरीले मोटरसाइल किन्ने तथा पूर्जा परिवर्तनमा सहयोग गर्ने ग्यारेजवालालाई समेत नियन्त्रणमा लिएको छ । चोरीको योजना बनाउने मुख्य योजनकार बमबहादुर न्यौपानेलाई इटहरीबाट पक्राउ गरी भोजपुर ल्याउने तयारी भइरहेको प्रमुख राईको भनाइ छ ।

सम्बन्धित समाचार