ज्वेलर्सबाट सुनचाँदीका गरगहना चोरी गर्ने पक्राउ
सुनसरीको वराहक्षेत्र नगरपालिका १ स्थित चतराका लक्ष्मण बिकको औलिया ज्वेलर्सबाट सुनचाँदीका गरगहना चोरी गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय अनिल बराइली रहेका छन् ।
हिजो राती १ तला भएको पक्की घरमा रहेको औलिया ज्वेलर्स घर पछाडि काठको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदी चोरी भएको सूचना पाए लगतै इलाका प्रहरी कार्यालय चतरा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटिएका थिए । घटनाको सूक्ष्म अनुसन्धान थालेको प्रहरी चोरी भएको २४ घण्टा नबित्दै हिजो दिउँसो साढे २ बजे चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएको छ ।
अनुसन्धान गर्ने क्रममा शङ्कास्पद रहेका बराइलीको घर कोठा भित्र खानतलासी लिँदा दराज पछाडि कालो झोलामा लुकाई छिपाई राखिएको चोरीको सुनका गरगहनाहरू ६ तोला ८३ लाल र चाँदीको गरगहनाहरू २९७ तोलाको अन्दाजी १० लाख ४० हजार ५९० बराबरको गरगहना बरामद भएको हो । चोरिएका सुनको गरगहनाहरू बरामद भएसँगै बराइलीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।