२०८३ बैशाख २ गते , बुधबार

रोकिएन काँकडभिट्टामा सुपारी तस्करी

sajilo news
झापा
२०७९ श्रावण १६ गते , सोमबार
रोकिएन काँकडभिट्टामा सुपारी तस्करी

नेपालबाट भारततर्फ सुपारी तस्करी हुने क्रम अझै रोकिएको छैन । मोरङ प्रहरीले विराटनगरबाट भारततर्फ जाँदै गरेको इन्डोनेसियाबाट आयातित ८ करोड ६३ लाख ८१ हजार ५ सय ६८ रुपैयाँ मूल्य बराबरको आठ ट्रक सुपारी नियन्त्रण लिएको घटना चर्चामा रहेको बेला दिनहुँ जसो काँकडभिट्टा नाकाबाट भारततर्फ सुपारी तस्करी भइरहेको छ । 
सोमबार बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर – ६ दुर्गा मन्दिरमा भारततर्फ अवैध रुपमा लाँदै गरेको अन्दाजी ८७ हजार ५सय मूल्य बराबरको सुपारी बरामद गरेको छ ।
त्यस्तै सोही दिन बिहान साढे ११ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर– ६ जेसिका ठ्याकमा भारततर्फ लैजाँदै गरेको अन्दाजी ९६ हजार मूल्य बराबरको सुपारी बरामद गरेको छ । ती सुपारी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । नेपाल प्रहरीले काँकडभिट्टा नाकाबाट पटक पटक सुपारी बरामद गरे पनि सीमा सुरक्षाको जिम्मा पाएका सशस्त्र प्रहरीले त्यसतर्फ खासै चासो देखाएको छैन । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट काँकडभिट्टाबाट खटिएका टोली सीमामा चौबिसै घण्टा तैनाथ छन् । 

सम्बन्धित समाचार