२०८३ बैशाख २ गते , बुधबार

बल्ल पारित भयो दमक नगरपालिकाको नीति तथा कार्यक्रम

sajilo news
झापा
२०७९ श्रावण ११ गते , बुधबार
बल्ल पारित भयो दमक नगरपालिकाको नीति तथा कार्यक्रम

दमक । दमक नगरपालिकाको वार्षिक नीति कार्यक्रम तथा बजेट बुधवार नगर सभाबाट पारित भएको छ । नेकपा एमालेको अवरोधले लामो समय रोकिएको नगर सभा चौथो पटक आजका लागि बोलाइएको थियो । आजको बैठकले बजेट पारित गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा पहिलो पटक गैर एमाले प्रमुख र उपप्रमुख चुनिँदा बहुमत भने एमालेकै छ । बहुमत आफ्नो रहेको भन्दै एमालेले आफू अनुकूल निर्णय गर्न गराउन अड्को थाप्दै आएको थियो । नगर सभा बैठकमा नगर प्रमुख राम थापाले उपप्रमुख तथा बजेट तर्जुमा समिति संयोजक रेगीना भट्टराईलाई विधेयक पेस गर्न अनुमति दिएपछि उनले पेस गरेकी थिइन् । विधेयक पेस भएपछि कसैबाट पनि असहमति व्यक्त नभएकाले नगर प्रमुख थापाले सर्वसम्मत पारित भएको घोषणा गरेका थिए ।

असार १० गते नगर सभाको पहिलो बैठकमानै नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट पेस भएको थियो । त्यसपश्चात् असार २० गतेसम्म विधेयकमाथि सल्लाह, सुझाव तथा राय दिने समय तोकिएको थियो । तर, त्यसयता नगर सभाका ३ वटा बैठक बसे पनि नेकपा एमाले सम्बद्ध नगर सभा सदस्यको असहमतिका कारण पारित हुन सकेको थिएन । आफ्ना आवाज र मागलाई बेवास्ता गरिएको भन्दै एमालेले असन्तुष्टि जनाएको थियो । त्यसपछि विभिन्न चरणमा भएका छलफल पछि सबै नगर सभा सदस्यको सहमतिमा नीति, कार्यक्रम तथा बजेट पारित भएको हो ।

नगर सभाले १ अर्ब ६३ करोड ४० लाख ४० हजार रूपैँयाको बजेट पारित गरेको हो । बजेटको ५१ प्रतिशत बजेट चालु खर्चमा छुट्ट्याइएको छ भने ४९ प्रतिशत पुँजीगत खर्चका लागि छुट्ट्याइएको छ ।

सम्बन्धित समाचार