२०८३ बैशाख २ गते , बुधबार

एक्सेल डेभलपमेन्ट बैंकलाई प्रदेशभरि विस्तार गरिँदै

sajilo news
झापा
२०७९ श्रावण ६ गते , शुक्रबार
एक्सेल डेभलपमेन्ट बैंकलाई प्रदेशभरि विस्तार गरिँदै

झापा । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडलाई प्रादेशिक स्तरको बैंकको रुपमा विस्तार गर्न लागिएको सञ्चालकहरूले बताएका छन् ।  बैंकको १७ औं वार्षिकोत्सवका अवसरमा  शुक्रबार बिर्तामोडमा आयोजित कार्यक्रममा सञ्चालकहरूले त्यस्तो जानकारी दिएका हुन् । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पाँचथरका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरूमार्फत ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ भने चालु आर्थिक वर्षमा प्रदेश नं. १ भरि आफ्नो कारोबार सञ्चालन गर्ने उद्देश्यका साथ आवश्यक न्यूनतम चुक्ता पुजी पुरा गरिसकेको हुनाले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै कार्यक्षेत्रभित्रका जिल्लाहरूमा थप नयाँ शाखाहरू स्थापना गर्ने लक्ष्य लिएको हो । 

 पुँजीगत हिसाबले प्रादेशिक बैंक जतिको पुँजी पुगिसकेकाले अब छिट्टै यसलाई प्रादेशिक बैंकको रुपमा विकसित गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार कट्टेलले बताए । उनले बिर्तामोडको एउटा कोठाबाट शून्य कारोबारबाट सुरुवात भएको  स्मरण गर्दै सो बैंकको अहिले साढे १२ अर्बभन्दा बढी डिपोजिट र साढे  १० अर्बभन्दा बढी कर्जा लगानी रहेको जानकारी दिए ।  स्थानीय स्तरको बैंकको रुपमा स्थापना भएर अहिले अत्याधुनिक बैंकिङ प्रविधिअन्तर्गत  डिजिटल बैकिङ , मोबाइल बैंकिङजस्ता सुविधाहरू उपलब्ध गराइएको जानकारी दिए ।  ‘एउटा परिवारका सबै सदस्यहरूका लागि चाहिने बाल , वृद्ध र महिला खाता  हामीकहाँ सञ्चालनमा रहेको छ ’ उनले भने‘ निक्षेपमा  पनि  सबैभन्दा धेरै व्याज दिने प्रयास गरेका छौँ ।’  समृद्ध बैंक बनाउने दिशातर्फ सबैको साथ र सहयोगले आफूहरू अघि बढेको उनको भनाई थियो । कार्यक्रममा बैंकका अध्यक्ष महेन्द्रकुमार गोयलले आगामी दिनमा समेत बैंकको विकास र विस्तारमा सबैको सहयोग रहनेमा विश्वास व्यक्त गरे ।

अध्यक्ष गोयलको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका संस्थापक शेयरधनी डा. रूपक खनाल ,बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङ , सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका  प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कम्पनी सचिव श्याम बोहोराले सञ्चालन गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कट्टेलले  स्वागतसहित बैंकको गतिविधिबारे प्रकाश पारेका थिए ।  त्यस कार्यक्रमअघि कर्मचारीहरूले बिहान मुक्ति चोकमा प्रभात फेरी निकालेका थिए ।  एक्सेल डेभलपमेन्ट बैंकले वित्तीय कारोबार सञ्चालन सुरुवात गरेको अवधि १७ वर्ष पुरा गरी शुक्रवारबाट १८ वर्षमा प्रवेश गरेको हो । बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा बिहीबार केन्द्रीय कार्यालय रहेको स्थान बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । विभिन्न शुभेच्छुक, सङ्घसंस्थाका पदाधिकारी, बैंकका कर्मचारीहरूबाट ५३ पिन्ट रगत संकलन गरी रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडलाई प्रदान गरिएको थियो । 

सम्बन्धित समाचार