युरेनियम जस्तो देखिने पदार्थसहित गिरोहका १५ जना पक्राउ
युरेनियम जस्तो देखिने पदार्थसहित दुई वटा गिरोहका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। छुट्टाछुट्टै स्थानबाट दुईवटा समूहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। विक्रीका लागि आएकाहरूलाई विराटनगरको दुई स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए।
प्रहरीका अनुसार साउन १ गते एक किलो ८७.३ ग्रामसहित विराटनगर– ९ ट्राफिक चोकबाट ८ जना र साउन ३ गते विराटनगर महानगरपालिका– ३ स्थित दूध फारम नजिकैबाट ९७८.६ ग्रामसहित सात जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका- ७ का ४१ वर्षीय शिव शङ्कर पासवान, धनपालथान गाउँपालिका-४ का ३७ वर्षीय मुकेश कुमार साह, धनपालथान गाउँपालिका-७ का ४३ वर्षीय प्रदीप पुरी, कटहरी गाउँपालिका-२ का ४० वर्षीय दिलीप कुमार शर्मा, विराटनगर-१२ का ४६ वर्षीय फटिक कुमार कार्की, माप्यदुधकोशी गाउँपालिका-७ सोलुखुम्बुका ३५ वर्षीय गोपाल मगर, हलेसी नगरपालिका-९ खोटाङका ३२ वर्षीय किरण राई र धनपालथान गाउँपालिका- ७ का ४४ वर्षीय लक्ष्मण शर्मालाई १ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी विराटनगरकै दुधफारममा समेत केही व्यक्तिहरू रहेको भन्ने सूचनाका आधारमा उक्त स्थानमा खटिएको प्रहरी टोलीले उक्त स्थानबाट ९७८.६ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गण्डकी गाउँपालिका-८ गोरखाका ४५ वर्षीय जीवन गुरुङ, मङहा नगरपालिका-६ महोत्तरीका, ४२ वर्षीय अब्दुल गनी खान, बर्दिबास नगरपालिका-१२ महोत्तरीका ३० वर्षीय चन्दन कुमार महतो, ग्रामथान गाउँपालिका-३ मोरङका ५५ वर्षीय रवीन्द्र गच्छदार, बागमती गाउँपालिका-५ मकवानपुरका ३६ वर्षीय दीपक कुमार भ्लोन, मनराषिशवा नगरपालिका-३ महोत्तरीका ४९ वर्षीय उमेश प्रसाद यादव र कमलामाई नगरपालिका-५ सिन्धुलीका २८ वर्षीय श्याम घिमिरे रहेका छन् ।
उनीहरूको साथबाट बरामद भएको वस्तु परीक्षणका लागि पठाइएको बताउँदै उनले भने, ‘पक्राउ परेकाहरू भरिया हुन्, नाइकेको खोजी हुँदैछु। पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए।