आफ्नै भाउजू र छिमेकी बालकमाथि धारिलो हतियार प्रहार गर्ने व्यक्ति फरार
झापा गाउँपालिका वडा १ लसुनाका एक व्यक्ति आफ्नै भाउजू र छिमेकीको छोरालाई धारिलो हतियारले घाइते बनाएर फरार भएका छन् ।
फरार हुनेमा झापा गाउँपालिका वडा १ बस्ने अन्दाजी वर्षीय ३५ का दुखिया राजवंशी रहेका छन् । घरमा कोही नभएको मौका छोपी मार्ने उद्देश्यले दुखियाले आफ्नै जेठो दाजु सागर राजवंशीकी श्रीमती सीमासरि राजवंशीलाई धारिलो हतियारले हानेर शरीरको विभिन्न भागमा काटी सख्त घाइते बनाएका हुन् । घाइतेको श्रीमान् रोजगारको सिलसिलामा अहिले कतारमा छन् ।
त्यसैगरी उनले आफ्नै छिमेकी मोहन राजवंशीका ९ वर्षीय छोरा धनञ्जय राजवंशीलाई टाउकोमा धारिलो हतियारले प्रहार गरी घाइते बनाएका छन् । अहिले दुवै जनाको अवस्था चिन्ताजनक रहेको स्थानीय कुमार गणेशले बताएका छन् । गणेशका अनुसार घाइते सीमासरि राजवंशीको विर्तासिटी अस्पताल र घाइते वालक धनञ्जय राजवंशीको बिर्तामोडको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय कुमरखोदका सई रत्नबहादुर श्रेष्ठले गाउँलेहरूले बिहान ८। १०बजे घटनाबारे जानकारी गराएको बताउँदै जानकारी पाउनसाथ घटनास्थल पुगेर घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएको र घटनामा संलग्न व्यक्तिको खोजी कार्यलाई तीव्रता दिएको जनाए । छिमेकीको भनाई अनुसार दुखिया राजवंशीले पुरै गाउँलेलाई नै त्रसित बनाएका छन् ।
जसलाई पनि काट्ने र मार्ने धम्की मात्रै दिन्छन् । आफ्नी भाउजूसँग पटक पटक झगडा भई रहने र भाउजूलाई मारेर जेलजाने भनी धम्की समेत दिएका थिए । भाउजूसँगको झगडाको विषयमा १ महिनाअघि दुखिया राजवंशी पक्राउ परेका थिए । केही दिन अगावै मात्रै उनी छुटेका थिए । दुखियाले गत वर्ष नै बिहे गरेका थिए । बिहे भएता पनि सँधैं झगडा भई रहने कारण उनकी श्रीमती माइतमा बस्दै आएकी छन् ।