२०८२ बैशाख १३ गते , शनिबार

ठेकेदारको लापरबाहीले पाँच वटा भवनको निर्माण कार्य अलपत्र, बजेट फ्रिज 

sajilo news
झापा
२०७९ असार १७ गते , शुक्रबार
ठेकेदारको लापरबाहीले पाँच वटा भवनको निर्माण कार्य अलपत्र, बजेट फ्रिज 

बाह्रदशी गाउँपालिकामा वडा कार्यालय निर्माणका लागि प्राप्त रकम फ्रिज हुने भएको छ । निर्माण कम्पनीले समयमा भवन निर्माण सम्पन्न नगर्दा सङ्घीय सरकारको समपूरक अनुदानको रकम फ्रिज हुन लागेको हो । रकम फ्रिज भएसँगै बाह्रदशी गाउँपालिकामा निर्माणाधीन पाँच वटा वडा कार्यालयका भवन अलपत्र हुने अवस्थामा पुगेको बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईँले बताए ।

सङ्घीय सरकारको समपूरक कोषको रकमबाट बाह्रदशी गाउँपालिका ३, ४, ५, ६ र ७ नम्बर वडा कार्यालय निर्माणाधीन छन् । आगामी असार ३० गते पाँचै वटा वडा कार्यालय भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि ५० प्रतिशतसम्म सम्पन्न नभएको प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले बताए ।

पाँच वटै वडा कार्यालयको भवन निर्माणका लागि गालवा, समता, नेपाल पूर्वाधार जेभी बिर्तामोडले ठेक्का लिएका थिए । कवोल रकमभन्दा ३१ प्रतिशतभन्दा ‘बिलो’मा भवन निर्माणको ठेक्का लिएका ती कम्पनीले समयमा काम सम्पन्न नगर्दा भवन अलपत्र हुने अवस्था आएको नारायणप्रसाद खरेलले बताए ।

भवन निर्माणका लागि कवोल रकम ३ करोड ११ लाख ५२ हजार ७ सय ३४ रुपैयाँ ७० पैसा भएपनि नेपाल पूर्वाधार जेभीका सञ्चालक टेकराज श्रेष्ठले ३१ प्रतिशतभन्दा बढी विलोमा भवन निर्माणको जिम्मा लिएको इन्जिनियर खरेलले बताए ।

बाह्रदशी गाउँपालिकाको वडा नम्बर ३को वडा कार्यालयको ८० प्रतिशत काम सम्पन्न भए पनि अन्य वडाको काम ५० प्रतिशत समेत सम्पन्न नभएको बताइएको छ । समयमा भवन निर्माण सम्पन्न नहुँदा रकम फ्रिज हुने भएपछि गाउँपालिकाले पटक–पटक भवन निर्माणका लागि ताकेता गर्दा पनि निर्माण व्यवसायी श्रेष्ठले अटेर गरेको र समयमा काम सम्पन्न नगरे कालोसूचीमा राखेर कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले बताए ।

निर्माण व्यवसायी श्रेष्ठले भवन निर्माणका क्रममा वडा नम्बर ४ र ६मा कमसल काम गरेको भन्दै पुनः मर्मत गर्न लगाएको बताइएको छ । वडा नम्बर ४मा पर्खाल कमसल भएको र ६मा पश्चिमतर्फको बिम नै बाङ्गो निर्माण गरेकोले भत्काएर पुनः निर्माण गर्न लगाइएको इन्जिनियर खरेलले बताए ।

बाह्रदशी ४ मा दाताले दिएको जमिनमा भवन निर्माण भइरहेको छ । निर्माणाधीन भवनसम्म पुग्ने बाटो नहुँदा समस्या भएको निर्माण व्यवसायी श्रेष्ठले बताए । सुरुमा काम गर्न बाटो नभएर पाइएन– उनले भने – अहिले पानीले समस्या बनायो ।

भवन निर्माणका लागि गाउँपालिकाले सहयोग नगर्दा समस्या भएको छ– उनले भने– अब कुनै पनि हालतमा निर्धारित समयमा काम सम्पन्न हुँदैन, समय थप गरेर भए पनि भवन निर्माण गर्नुपर्छ । जसका लागि ६ महिना समय थप्न जरुरी छ । वाह्रदशी गाउँपालिका–७मा निर्माणाधीन भवनको भुईँ ढलाइसम्म भएको छैन– वडाध्यक्ष मित्रराज भट्टराईले भने– यही तालमा भवन निर्माण गर्ने हो भने अझै दुई वर्षमा पनि काम सम्पन्न हुँदैन । भएको रकम पनि फ्रिज भएर जाँदा गाउँपालिकाले ठेकदारका कारण कत्रो क्षति व्यहोर्नु प¥यो भनी साध्य छैन ।

सम्बन्धित समाचार