२०८१ माघ २ गते , बुधबार

वडा कार्यालयको बलमिचाइँ, सम्झौताबिना मन्दिरको जग्गामा जवर्जस्ती कृषि बजार निर्माण गर्दै

sajilo news
झापा
२०७९ असार १३ गते , सोमबार
वडा कार्यालयको बलमिचाइँ, सम्झौताबिना मन्दिरको जग्गामा जवर्जस्ती कृषि बजार निर्माण गर्दै

शिवसताक्षी नगरपालिकाको ६ नं वडा कार्यालयले सम्झौताबिना श्री महादेव बृजेश्वरनाथ शिवालय मन्दिरको जग्गामा जवर्जस्ती कृषि बजार निर्माण गर्न थालेको छ । मन्दिर समितिले आफूहरुको सहमतिबिना निर्माण कार्य नगर्न नगराउन वडा कार्यालयलाई पटक पटक आग्रह गर्दा समेत नटेरेपछि मन्दिर समिति अब न्यायका लागि अदालत जाने भएको छ ।

मन्दिरको नाममा रहेको शिवगञ्ज बजारको कि. नं. ५९१ को एक विगाह एक कट्ठा जग्गामा वडा कार्यालयले आफूखुसी कृषि बजार निर्माण गर्न थालेको हो । वडा कार्यालयले कृषि बजारको लागि भन्दै मन्दिर समितिको नाममा रहेको  कि. नं. को ८ कट्ठा १० धुर जग्गा लिजमा लिएको थियो । ८ कट्ठा १० धुर जग्गा लिएवापत् प्रत्येक वर्ष ३१ हजार रुपैयाँ भाडा दिने भन्दै मिति २०७७ बैशाख २२ गते वडा कार्यालय र मन्दिर समितिबीच सम्झौता भएको थियो । लिजमा लिएको ८ कट्ठा १० धुर जग्गामा कृषि बजार निर्माण गरेको वडा कार्यालयले सँगै रहेको १ विगाह १ कट्ठा जग्गा पनि जवर्जस्ती अतिक्रमण गरी निर्माण थालेको हो ।

एउटा जग्गा दिँदा अर्को जग्गा समेत कब्जा गरेपछि मन्दिर समितिले निर्माण कार्य रोक्न पटक पटक वडा कार्यालयलाई लिखित र मौखिक जानकारी गराएको छ । तर , वडा कार्यालयले त्यसलाई बेवास्ता गरी निर्माण कार्य जारी राखेको हो । मन्दिरको नाममा दर्ता कायम रहेको शिवसताक्षी साबिक शिवगञ्ज १ को  कि. नं. ५९१ को ज.वि. १–१–० जग्गामा मन्दिर समितिको सम्झौताबेगर संरचना निर्माण गरिरहेकोमा निर्माण कार्य रोक्नका लागि समितिका अध्यक्ष श्रीप्रसाद राजवंशीले २०७८ जेठ २८ गते वडा अध्यक्ष मनोज खुलाललाई पत्र पठाएका थिए । त्यसको बोधार्थ शिवसताक्षी नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालय शिवगञ्जलाई दिइएको थियो । तर, त्यसलाई वडाध्यक्ष खुलालले वास्ता गरेनन् ।

सम्झौता गरिएको जग्गामा बनाइएको कृषि बजार

भर्खरै सम्पन्न मन्दिर समितिको १२ औं साधारण सभाले आफ्नो जग्गामा हुँदै गरेको भौतिक संरचनाको निर्माण कार्य अविलम्ब रोक्न शिवसताक्षी नगरपालिका र ६ नं वडा कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको छ । फेरि पनि आफूहरूको आग्रहलाई बेवास्ता गरी निर्माण कार्य नरोके वा रोक्न नलगाए कानुनी न्यायका लागि अघि बढ्ने निर्णय समेत गरेको छ ।

यस्तो छ वडा कार्यालयले गरेको सम्झौता

मन्दिरको नाममा दर्ता कायम रहेको कि. नं. ५९२ को ज.वि. ०–८–१० को खाली जग्गा कृषि थोक बजार प्रयोजनका लागि वार्षिक ठेक्का ३१ हजार लिने दिने गरी वडा कार्यालयसँग २०७७ बैशाख २२ गते सोमबार सम्झौता भएको थियो । मन्दिर समितिका अघिल्लो अध्यक्ष कृष्ण लुइँटेलको कार्यकालमा निर्णय भई त्यसपछिका अध्यक्ष श्रीप्रसाद राजवंशीले वडा कार्यालयसँग सो सम्झौता गरेका हुन् । सम्झौतामा वडाध्यक्ष मनोज खुलाल र मन्दिर समिति अध्यक्ष राजवंशीले हस्ताक्षर गरेका छन् । जुन सम्झौता यस प्रकार रहेको छ ।

१० शिवगंज कृषि उपज बजारका लागि शिवगंज कृषि थोक बजार रहुन्जेलसम्म यस श्री गौरीशङ्कर बृजेश्वर महादेव शिवालय मन्दिरको नाममा माथि उल्लेखित जग्गा शिवसताक्षी ६ वडा कार्यालयलाई उपलब्ध गराइराख्ने ।

२० शिवगंज कृषि थोक बजारले उपभोग गरेको श्री गौरीशङ्कर बृजेश्वर महादेव शिवालय मन्दिरको जग्गाको ठेक्काबापत सम्झौता भएको मितिदेखि लागु हुने गरी ०–८–१० जग्गाको ठेक्काबापतको रकम प्रतिवर्ष रु ३१०००।– (अक्षेरुपी एकतिस हजार मात्र) मन्दिर समितिलाई शिवसताक्षी न।पा।६ नं। वडा कार्यालयले प्रत्येक आर्थिक वर्षको माघ मसान्तसम्ममा ठेक्का रकम उपलब्ध गराउने ।

३० उल्लेखित जग्गाको तोकिएको ठेक्का रकममा नघटाई प्रचलित कानुन अनुसार समायोजन गर्दै जाने । ४० जग्गाको सम्झौताको हकमा उक्त जग्गामा बजार सञ्चालन हुन नसकेमा सो जग्गामा निर्माण भएका भौतिक संरचना प्रचलित नेपाल सरकारको कानुन अनुसार हुने छ र जग्गाको स्वामित्व मन्दिरमा नै रहनेछ । ५० यदि सर्त सम्झौता बमोजिमको ठेक्का रकम मन्दिर व्यवस्थापन समितिलाई तोकिएको समयमा उपलब्ध नगराएमा सोही मितिबाट मन्दिर समितिले सम्झौता भङ्ग भएको निर्णय सबै पक्षलाई मान्य हुनेछ।

किर्ते माइन्युट गरेको दाबी

२०७७ फागुन २२ गते मन्दिर समितिको वार्षिक साधारण सभा भएको थियो । साधारण सभा सम्पन्न भइसकेर खाता बन्द गरिसकेको अवस्थामा एउटा समूहले कि. नं. ५९१ को ज.वि. १–१–० जग्गा पनि वडा कार्यालयलाई दिने किर्ते निर्णय गरेर वडा कार्यालयमा पेस गरेको निवर्तमान अध्यक्ष श्रीप्रसाद राजवंशीले बताए । आफूहरूको सहमतिबिना किर्ते निर्णय गरेका कारण सम्झौताका लागि नगएको र ठेक्का रकम पनि नलिएको राजवंशीले बताए ।

सम्झौताका लागि नआएपछि काम थाल्यौँ–वडाध्यक्ष

शिवगञ्जमा कृषि बजारको डीपीआरका लागि कृषि मन्त्रालयले ३५ लाख रुपैयाँ छुट्टाएको थियो । त्यसपछि दोस्रो चरणमा डेढ करोड रकम विनियोजन गरेको हो । ८ कट्ठा १० धुर जग्गा अपुग हुने कुरा मन्त्रालयले बताएपछि मन्दिर समितिको साधारण सभाबाट थप १ विगाह १ कट्ठा जग्गा लिजमा दिने निर्णय गराएर त्यसकै आधारमा मन्त्रालयले सो बजेट छुट्टाएको वडाध्यक्ष खुलालले बताए । उनले ८ कट्ठा १० धुरको ३१ हजार र थप १ विगाह १ कट्ठाको ९५ हजार वार्षिक ठेक्का रकम वडा कार्यालयले छुट्टाइसकेको जानकारी दिए । ८ कट्ठा १० धुरमा कृषि बजार निर्माण भएको छ भने १ विगाह १ कट्ठामा अक्सन सेन्टर बन्दैछ ।

मन्त्रालयले छुट्टाएको डेढ करोडमध्ये कृषि बजारका लागि १ करोड ५ लाखमा ठेक्का लागेर अरू रकम उब्रिने भएपछि अक्सन सेन्टर हतारमा बनाउनु परेको उनले बताए । आफूहरूले सम्झौताका लागि पटक पटक मन्दिर समितिलाई बोलाएपनि उनीहरू नआएको वडाध्यक्ष खुलालले जानकारी दिए । ‘ हामीले सम्झौताका लागि ३ पटक बोलाइसक्यौ ’उनले भने ,‘ तर उहाँहरू आउनु भएको छैन ।’ केही दिनअघि कुन्जी विहारी ताजपुरियाको अध्यक्षतामा मन्दिरको नयाँ कार्यसमिति चयन भएको छ । जुन समितिले बिना सम्झौता अर्काको जग्गामा निर्माण कार्य गर्ने वडा कार्यालयलाई निर्माण रोक्न फेरि पनि आग्रह गरिसकेको छ ।

राजवंशीले दान दिएको जग्गामा मनपरी

गौरीशङ्कर बृजेश्वर महादेव शिवालय मन्दिरको स्थापना साबिक पाँचगाछी ३ का डम्बरलाल राजवंशी १९९७ मा निर्माण गरिदिएका थिए ।सो मन्दिरलाई राजवंशीहरूले जग्गा दान दिएका थिए । मन्दिरको नाममा कि. नं. १६८ को ज.वि. ७ कट्ठा २ धुर , कि. नं. १७३ को ज.वि. २ कट्ठा , कि. नं.  १८८ को ज.वि. २ कट्ठा १५ धुर , कि. नं.  १८९ को ज.वि. २ कट्ठा ७ धुर , कि. नं.  ५९१ को १ विगाह १ कट्ठा , कि. नं. ५९२ को ८ कट्ठा १० धुर, कि. नं. २३३ को ज.वि. ४ कट्ठा १० धुर , कि. नं.  २३४ को ज.वि. ४ कट्ठा १० धुर , कि. नं.  २३८ को १८ कट्ठा, कि. नं.  २४६ को १० कट्ठा, कि. नं. ७९७ को ज.वि. ५ कट्ठा १० धुर ,कि. नं. ७९८ को ज.वि. १ विगाह , कि. नं.  ८१९ को ज.वि. १० धुर र कि. नं. ८२० को ज.वि. २ विगाह १० कट्ठा गरी ७ विगाह १६ कट्ठा १४ धुर जग्गा स्रेस्तामा देखिन्छ । तर , ती जग्गामाथि अहिले आफूखुसी गर्न थालिएको छ । वडा कार्यालयसँगै नेपाल टेलिकमले पनि बिना सम्झौता चार कट्ठा जग्गामा संरचना निर्माण गरेको छ । विगतमा झापाका आदिवासी समुदायले मठमन्दिर , स्कुललाई दान दिएको जग्गा धेरै ठाउँमा मास्ने र बेचिखाने काम भएको छ ।

सम्बन्धित समाचार