हल्दिबारी गाउँपालिकाको बजेट ४६ करोड ४३ लाख ४४ हजार
झापाको हल्दिबारी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ४६ करोड ४३ लाख ४४ हजार ६७० रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार आयोजित बाह्रौँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले अख्तियारी दिएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । बजेटमा चालु खर्च तर्फ ७ करोड १४ लाख ५० हजार, गाउँपालिका पुँजीगत खर्च २० लाख,सशर्त अनुदान सङ्घीय सरकार १७ करोड ५३ लाख , सशर्त अनुदान प्रदेश सरकार १२ लाख ३ हजार ,समपूरक अनुदान सङ्घीय सरकार १ करोड , समपूरक अनुदान प्रदेश सरकार १ करोड र वडास्तरीय कार्यक्रममार्फत १ करोड ९५ लाख रहेको छ भने अन्य विषयगत क्षेत्रअन्तर्गत आर्थिक विकास १ करोड २ लाख , सामाजिक विकास ४ करोड ९२ लाख ८१ हजार ६७० ,पूर्वाधार विकास १० करोड २३ लाख ५० हजार , वन वातावरण तथा विपद् व्यवस्थापन १५ लाख , सुशासन तथा संस्थागत विकास ३१ लख ४० हजार , विविध कोषहरू ९५ लाख, समपूरक कोष ३० लाख, मर्मत कोष ४० लाख,साझेदारी कोष १० लाख र जनता उपचार कोष १५ लाख बजेट विनियोजन गरिएको छ ।
हल्दिवारीको वाचा , झापाभरि माछा,किसानको खुसी पशुपालन र कृषि,फेरि पनि घुम्न जाऊँ हल्दिवारी गाउँ,एक सहकारी एक उत्पादन,हाम्रो लगानी घरघरमा स्वच्छ खानेपानी,एक घर एक माहुरीको घार,सबैलाई सीप सबैलाई रोजगार,हल्दिवारीका महिला विकासमा पहिला,समृद्धिका पालक हल्दिवारीका बालक,हामी सबैको इच्छा अनिवार्य निःशुल्क शिक्षा,बेसहाराको सहारा हल्दिवारी गाउँपालिका,दिगो विकासको आधार व्यवस्थित र जनमैत्री पूर्वाधार भन्ने १२ वटा नाराका साथ गाउँपालिकाले प्राथमिकता क्षेत्रमा बजेट विनियोजन गरेको छ ।
कृषि तथा पशुपालनतर्फ मुख्य रूपमा कृषकहरूलाई मल बीउ समयमै सहुलियतमा उपलब्ध गराउन सहकारीहरूसँग प्रबन्ध मिलाउने, सुत्केरी गाईभैंसीलाई प्रोत्साहनस्वरुप रु १ हजार उपलब्ध गराउने, अर्ग्यानिक खेती प्रवर्द्धनका लागि आएपिएम तालिमको व्यवस्था गर्ने, एक वडा एक पकेट कार्यक्रम सञ्चालनमा ल्याउने, कृषिमा यान्त्रिकीकरणका लागि अनुदान उपलब्ध गराउने,५० प्रतिशत साझेदारीमा सिँचाइ मोटर वितरण कार्यलाई निरन्तरता दिने , सहकारी संस्थाहरूसँग सहकार्य गरी मध्यम स्तरको कोल्ड स्टोर सञ्चालन गर्ने, चिया किसानहरूले उत्पादन गरेको चिया पत्तीको मूल्य समसामयिक बनाउन सरोकारवा निकायहरूसँग सहकार्य र समन्वय गर्ने, यस्तै शिक्षा स्वास्थ्य तथा खेलकुदतर्फ कक्षा १२ सम्म निःशुल्क शिक्षालाई निरन्तरता दिने,निम्न आय भएका जेहेन्दार विद्यार्थीमध्ये वार्षिक रूपमा एक जनालाई डाक्टर र एक जनालाई सिभिल इन्जिनियर गरी दुई जनालाई कार्यविधि अनुसार छात्रवृत्ति प्रदान गर्ने, हल्दिवारी, जनजागृति र लक्ष्मी मा।वि लाई शैक्षिक गतिविधि गर्न अनुदान उपलब्ध गराउने, दुई वटा शिवालयहरू छनौट गरी डिजिटल माध्यमबाट पठनपाठन सुरु गर्ने,गाउँपालिका मातहतमा रहेका स्वास्थ्य संस्थाबाट सेवा लिइरहेका सुत्केरीहरूलाई पोषण भत्ता उपलब्ध गराउने, सबै वडाहरूमा रहेका ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी,फरक क्षमता भएका नागरिकहरूलाई महिनाको एक पटक घरभेटीमार्फत स्वास्थ्य सेवा प्रदान गर्ने, गरिबीको रेखामुनि रहेका प्रत्येक परिवारको पहिचान गरी निःशुल्क स्वास्थ्य बिमा गरिदिने, वडास्तरीय फुटबल÷ भलिबल तथा अन्य खेलका टिमहरू तयार गर्ने, खुल्ला व्यायामशालाहरू स्थापना गर्ने, त्यस्तै रोजगारतर्फ प्रधानमन्त्री स्वरोजगार कार्यक्रमसँगै “सबैलाई सीप, सबैलाई रोजगार“ कार्यक्रमको सुरुवात,उद्यमशीलता एवं आय वृद्धिमार्फत गरिबी न्यूनीकरणको नीति अवलम्बन गर्ने, गाउँपालिकाभित्र एक तालिम केन्द्रको व्यवस्थापन गर्दै स्वरोजगार केन्द्र स्थापना गर्ने ,पूर्वाधारतर्फ जलथल जङ्गल र आबादी बीचमा रहेको पर्यटकीय मार्गलाई पूर्णता दिँदै ग्राभेल गर्ने र निकट भविष्यमा कालोपत्रे गरी पर्यटकीय मार्गको रूपमा विकास गर्ने लगायतका विभिन्न कार्यक्रम प्रस्तुत गरिएको छ ।
झापा क्षेत्र नं ३ ‘ख’ का प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न गाउँ सभा आगामी १७ गते नीति तथा कार्यक्रममाथि छलफल गरेर पूर्ण बजेट पारित गर्ने गरी अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले स्थगित गरेका छन् ।