२०८१ मंसीर २० गते , विहीबार

वरुण कलेज सङ्खुवासभा बन्यो सूर्योदय क्विज सिजन–६ को विजेता

sajilo news
झापा
२०७९ जेष्ठ २८ गते , शनिबार
वरुण कलेज सङ्खुवासभा बन्यो सूर्योदय क्विज सिजन–६ को विजेता

सङ्खुवासभाको खाँदवारिमा रहेको वरुण मल्टिपल कलेज प्रदेश स्तरीय सूर्योदय क्विज सिजन–६ को विजेता बनेको छ । जनता मल्टिपल कलेज इटहरीलाई पछि पार्दै वरुण मल्टिपल कलेज खाँदवारि क्विज च्याम्पियन बनेको हो । 
सिजनको फाइनल राउन्ड निकै रोचक भएको थियो । फाइनलमा वरुण र जनता मल्टिपल कलेजबिच ट्राइबे्रकर पछि वरुण मल्टिपल कलेजले उपाधि हात पारेको हो । 
सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीको अध्यक्षतामा सम्पन्न फाइनल कार्यक्रमको प्रमुख आतिथ्य बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईँको रहेको थियो । 
प्रतियोगितामा जनता मल्टिपल कलेज इटहरी दोस्रो, दमकको मोडल क्याम्पस तेस्रो भएका छन् । फाइनलमा कनकाई मल्टिपल कलेज सुरुंगा झापा र इटहरीको कोसी सेन्टजेम्स पनि पुगेका थिए । 
फाइनल राउन्ड सूर्योदय टेलिभिजनबाट जेठ २७ गते शुक्रबार राति ८ः ३० बजे प्रसारण भएको थियो ।  लिग राउन्ड, सेमिफाइनल राउन्ड हुँदै प्रदेश १ भरीका एक सय भन्दा बढी विद्यालय तथा कलेजमध्ये बाट ५ उत्कृष्टले फाइनलसम्मको यात्रा तय गरेका थिए । 
पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगदसहित प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो । सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेती, प्रबन्ध निर्देशक विष्णु मैनाली उप्रेती, मेनेजर आशिष् उप्रेतीले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । 
प्रतियोगिताको निर्णायकमा सूर्योदय टेलिभिजनकी प्रबन्ध निर्देशक विष्णु मैनाली उप्रेती र प्रस्तोता प्रेम सागर घिमिरे थिए । यो प्रतियोगितामा भाग लिने कोही पनि विद्यार्थीलाई घाटा नहुने टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले बताए ।
फाइनल कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईँले स्थानीय क्षेत्रका विभिन्न खालका विषय बस्तुलाई उठान गर्दै आएको टेलिभिजनलाई धन्यवाद दिँदै विद्यार्थीहरूका यस्ता प्रतिस्पर्धाले विद्यार्थीको अध्ययनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।  
फाइनल कार्यक्रममा द भोइस अफ किड्समा उपविजेता बनेकी अनुजा कडरिया र गायक रमेशजंग कडरियाको प्रस्तुतिले बेग्लै रौनक थपेको थियो ।
सूर्योदय टेलिभिजनका कर्पोरेट डिरेक्टर यम विमलीले सञ्चालन गरेको कार्यक्रममा सिम्रिक साकोसका कमल बस्नेत, हिमालय पार्टी प्यालेसका सञ्चालक देवीप्रसाद सङ्ग्रौला, इन्टरनेट सेवा प्रदायक संस्था ब्रोडलिङ्कका बजार व्यवस्थापक सन्तोष कार्की, डोएन टिभीका प्रबन्ध निर्देशक कृष्णप्रसाद खरेललगायतको उपस्थिति रहको थियो ।     

सम्बन्धित समाचार