मेची भन्सारबाट जाँचपास गराएर निस्किएको तीन वटा भारतीय ट्रक राजश्वको नियन्त्रणमा
मेची भन्सार कार्यालय काँकडभिट्टाबाट जाँचपास गरी राजश्व तिरेर छुटेका भारतीय नम्बर प्लेट भएका तीन वटा ट्रक राजस्व अनुसन्धानले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट काँकडभिट्टा र राजस्व अनुसन्धान इटहरीको संयुक्त टोलीले तीन वटा ट्रक जेठ २२ गते राती पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगरस्थित जोरसिमलबाट नियन्त्रणमा लिएको हो ।
कम भन्सार मूल्याङ्कन र प्रज्ञापनपत्रमा भए भन्दा फरक सरसामान भएको कारण ती ट्रकहरू नियन्त्रणमा लिएको बुझिएको छ । नियन्त्रणमा लिएका ट्रकहरू डब्लुबी ३७ वि ७३९३, एनएल ०१ जी ९९५२ र डब्लुबी १९ जे ७९२० रहेका छन् । लालिगुँरास ट्रेडर्सको नाममा प्रज्ञापन रहेको उक्त ट्रकहरूमा क्रमशः ६ हजार ५ सय ९३, ६ हजार ५ सय ९३ र ६ हजार ५ सय ५३ रुपैयाँ भन्सार दाखिला भएको रसिद काटिएको छ ।
ट्रकहरूमा भन्सार भएको भन्दा फरक बस्तु भएको सूचनाको आधारमा नियन्त्रणमा लिई चेकजाँच गर्दा कैफियत भेटिएको सशस्त्र प्रहरी २ नम्बर गण झापाका प्रवक्ता डिएसपी प्रेम भण्डारीले जानकारी दिए । उनका अनुसार आलु भनेर भनिएको ट्रकमा एउटामा बिरुवा तथा अन्य दुईमा आलु रहेको छ । विगतमा समेत यस्ता कैफियतहरू भेटिएको र त्यसको ठोस अनुसन्धान नभएको भन्सार स्रोतले बताएको छ ।
गत जेठ ९ गते प्रदेश नं १–०१–००१ च ७८८६ नम्बरको पिक अप सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट काँकडभिट्टाले नियन्त्रणमा लिएको थियो । उक्त गाडीको र प्रज्ञापनमा भएको नम्बर नै फरक भएपछि उक्त पिक अप नियन्त्रणमा लिइएको डिएसपी भण्डारीले बताए । उनका अनुसार प्रज्ञापनपत्रमा उल्लेख भएको गाडी नम्बर मे १ च ५२०२ हो तर, प्रदेश नं १–०१–००१ च ७८८६ नम्बरको गाडीमा सामान बोकेर ल्याइएको थियो ।
यता घटनाको विषयमा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थ खनालसँग बुझ्न खोज्दा उनको दुवै मोबाइल बन्द छ । उनले प्रयोग गर्ने व्यक्तिगत र कार्यालय प्रयोजनको मोबाइल समेत बन्द राखिएको छ ।