२०८१ चैत्र १४ गते , विहीबार

एकातिर झापामा राजनीति गर्दै, अर्कोतिर वृद्धभत्ता लिदै

sajilo news
झापा
२०७९ जेष्ठ १६ गते , सोमबार
एकातिर झापामा राजनीति गर्दै, अर्कोतिर वृद्धभत्ता लिदै

सरकारले उमेरको हद कम गर्दै अब ६८ वर्षमै वृद्धभत्ता पाउने घोषणासंगै सामाजिक सुरक्षाभत्ता नलिनेहरुलाई सम्मान गर्ने निर्णय गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरिरहँदा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सुरक्षा भत्ता नलिने घोषणा गरेका छन् । उनी ६८ वर्ष पुगेका छन् । तर, झापामा धेरै राजनीतिक दलका नेताहरुले वृद्धभत्ता खाइरहेका छन् ।

आगामी आर्थिक वर्षका लागि सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । सरकारको ठूलो बजेट सामाजिक सुरक्षा भत्तामा खर्च हुने गरेको छ । गरीब देशको नागरिक भएको हुनाले आफूले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा भट्टराईले गरिरहँदा झापामा पूर्वमन्त्री , पूर्व सांसद भइसकेका र आर्थिक रुपमा सम्पन्न राष्ट्रियस्तरका धेरै पाका नेताहरुले वृद्धभत्ता खाइरहेका छन् । एक–दुईजना बाहेक उमेर पुगेका सबै नेताहरुले भत्ता लिइरहेको पाइएको छ ।

बिर्तामोड क्षेत्रमा हेर्ने हो भने ८७ वर्ष पुगेका राष्ट्रिय सभाका पूर्व सांसद डिल्लीप्रसाद सिटौलाले शुरुदेखि नै भत्ता खाइरहेका छन् । त्यस्तै संविधानसभा सदस्य तथा कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले गत वर्षदेखि भत्ता लिन थालेको बिर्तामोडको ३ नं। वडा कार्यालयले जनाएको छ । वयोवृद्ध नेता सिटौला पनि त्यही बिर्तामोड ३ नं वडाबाट भत्ता थाप्छन् । त्यस्तै पूर्व सांसद तथा एमालेका नेता मनकुमार गौतमले यस वर्षदेखि बिर्तामोड १ को वडा कार्यालयबाट भत्ता लिने गरेको वडा अध्यक्ष अग्निप्रसाद पाण्डेले बताए । त्यस्तै एमालेकै अर्का नेता पूर्व सांसद हरिचरण शिवाकोटीले आर्थिक वर्ष २०७४–७५ देखि वृद्ध भत्ता लिन थालेको बिर्तामोडको ९ नं। वडा कार्यालयले जनाएको छ ।

एक नं प्रदेश सरकारका भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगीले वृद्ध भत्ता लिन छाडेको करीव पाँच वर्ष हुन लाग्यो । प्रदेश सांसद भएपछि उनले भत्ता लिन छाडेका हुन् । ७८ वर्षिय सरावगीले यसअघि भद्रपुर ५ बाट वृद्ध भत्ता लिने गरेका थिए । सांसद भएपछि दोहोरो भत्ता लिन नपाउने नियमका कारण आफूले वृद्ध भत्ता त्यागेको उनले बताए । त्यस्तै पूर्व मन्त्री नरेन्द्रविक्रम नेम्बाङ पनि करीव ३ वर्षदेखि वृद्ध भत्ता खाँदैछन् । उनले मेचीनगरको १० नं वडा कार्यालयबाट भत्ता लिने गरेको सामाजिक सुरक्षा शाखाकी कर्मचारी मेनुका गड्तौलाले जानकारी दिइन् ।

त्यस्तै पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले अर्जुनधारा ८ बाट भत्ता लिने गरेका छन् भने कांग्रेसका पूर्व जिल्ला सभापति पूर्णानन्द शर्माले कमल ५ बाट भत्ता थाप्ने गरेका छन् ।

पूर्व उपप्रधानमन्त्री तथा कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले भने भत्ताको लागि इन्ट्री नगरेको भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीले बताए । त्यस्तै राष्ट्रिय सभा सदस्य बिर्तामोड १ निवासी गोपालकुमार बस्नेतले पनि वृद्ध भत्ताका लागि वडा कार्यालयमा निवेदन दिएका छैनन् ।

सरकारले उमेरको हद घटाएपछि अब एमालेका अर्जुन राई , कांग्रेसका शेरबहादुर भट्टराईजस्ता नेताहरुले वृद्ध भत्ता पाउने देखिएको छ । आर्थिक रुपमा विपन्न नभएका कतिपयले सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता लिएर विभिन्न परोपकारी काममा लगाउने गरेका छन् ।

सम्बन्धित समाचार