ओम साईँ हस्पिटलद्वारा ७७ वर्षीय वृद्धको पित्तथैलीको सफल शल्यक्रिया
सरकारले दिएको वृद्धा भत्तामा आश्रित बिर्तामोड नगरपालिका–७ स्थित खालबाडी निवासी ७७ वर्षीय वृद्ध लक्ष्मीप्रसाद भट्टराई पित्तथैलीमा देखा परेका ढुङ्गा (स्टोन) का कारण विगत तीन वर्षदेखि पीडा सहेर बस्न बाध्य भए । शारीरिक पीडा कम गर्न शल्यक्रिया गरी उनको पित्तथैली थाल्नु पर्ने चिकित्सकले परिवारजनलाई बताएका थिए ।
त्यसपछि उनका श्रीमती गोमा भट्टराई श्रीमानको पित्तथैलीको शल्यक्रिया गराउन अस्पतालहरू धाउन थालिन् । कुनै अस्पतालका चिकित्सकले श्रीमानको शल्यक्रिया गर्न चाहेनन् । अन्ततः भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलका चिकित्सकले पित्तथैलीको सफल शल्यक्रिया गरी श्रीमानलाई पुर्नजिवन दिएको उनकी श्रीमती गोमाले खुसी व्यक्त गर्दै बताइन् । पित्तथैलीमा २० एमएमको स्टोन थियो । पित्तथैलीको शल्यक्रियाका लागि मेची अस्पताल भद्रपुर, कनकाई हस्पिटल बिर्तामोड हुँदै नोबेल अस्पताल विराटनगरसम्म पुग्नु पर्यो । ‘त्यहाँका चिकित्सकहरूको एउटै जवाफ तपाईँको श्रीमानको धेरै दीर्घकालीन रोग छ, त्यसैले यस्तो उमेरमा शल्यक्रिया गर्न सकिँदैन, त्यसमाथि यसअघि नै पेटको पनि शल्यक्रिया भइसकेको रहेछ,’ उनले भनिन् ।
यी कुरा सुनेपछि श्रीमानको सहन नसक्ने पीडासँगै कसरी बचाउनु भनी भौँतारिँदै ओम साई हस्पिटल आइपुगेको बताउँदै उनी भनिन्, ‘ओम साईँका चिकित्सक सर्जन डा. शशि सिंह लगायतको टिमले श्रीमानको सफल शल्यक्रिया गरी बचायो ।’ अन्य हस्पिटलको तुलनामा यहाँ उपचार खर्च पनि कम लाग्यो । ‘म हस्पिटलका चिकित्सक र व्यवस्थापनप्रति आभारी छु, उनले भनिन् । परिवारमा दुई छोरी र श्रीमान् मात्र छ । वृद्ध भत्ताबाटै परिवार चलाउँदै आएको छु । ‘कहिले काहीँ सिलाइको काम पनि गर्छु,’ उनले भनिन्, ‘यस्तो उमेरमा श्रीमानलाई बचाउनु चिकित्सक मेरा लागि भगवान् साबित हुनु भयो ।’
यता हस्पिटलका चिकित्सक सर्जन डा. सिंहका अनुसार वृद्धको पित्तथैलीको शल्यक्रिया जटिल केस हो । वृद्धको पहिला पनि पेटको शल्यक्रिया पेट चिरेर गरिएको रहेछ । यस्तो अवस्थामा पित्तथैली र आन्द्रा जोडिएको हुन्छ । यस्तो अवस्थामा पनि हाम्रो टिमले दूरबिनबाट पित्तथैलीको सफल शल्यक्रिया गरेको उनले बताए । त्यस्तै हस्पिटलका सञ्चालक बालकुमार पोखरेलका अनुसार पछिल्लो समयमा यस हस्पिटलले अन्य हस्पिटलबाट रेर्फर भएर आएका जटिल भन्दा जटिल केसहरूको सफलतापूर्वक उपचार गराई घर पठाउँदै आएको बताए ।