हल्दिवारीका १००० जनालाई निःशुल्क स्वास्थ्य बिमा
नेकपा एमाले केन्द्रीय सदस्य तथा बिएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले झापाको हल्दिवारी गाउँपालिकामा एक हजार जनालाई निःशुल्क स्वास्थ्य बिमा गरिदिएका छन् ।
बिएण्डसी अस्पतालद्वारा निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आइरहेका प्रसाईँले मंगलबार हल्दिवारीका एक हजार स्थानीयलाई निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराएका हुन् ।
बिएण्डसी हस्पिटल र पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा प्रसाईँले यस्ता सामाजिक कार्य आफूले निरन्तर जारी राख्ने बताए । यसअघि पनि बिएण्डसी अस्पतालले विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको थियो । बिएण्डसीका सञ्चालक प्रसाईँले अहिले राजनीतिसँगै स्वास्थ्य क्षेत्रमा पनि ठुलो योगदान पुर्याउदै आइरहेका छन् ।
गत शनिवार कचनकवल गाउँपालिकाको सन्थाल बस्तीमा पुगेका प्रसाईँले त्यहाँ पनि तुरुन्त स्वास्थ्य बिमा गरिदिने प्रतिबद्धता जनाएका थिए । यस्तै त्यस बस्तीमा उनले खानेपानीको सुविधा पनि पुर्याइदिने बताएका छन् । यस्तै उनले सोमबार नै हल्दिबारी गाउँपालिकामा लामो समयदेखि उपचारको अभावमा साङ्लोले बाँधिएका एक युवकको उद्धार गरेका थिए ।