समाचार प्रभाव : हल्दिबारीमा साङ्लोले बाँधिएका युवकको बीएण्डसी अस्पतालद्वारा उद्धार
झापा । झापाको हल्दिबारीमा विगत दुई महिनादेखि साङ्लोले बाँधिएर राखिएका एक युवकको बीएण्डसी अस्पताल बिर्तामोडले उद्धार गरेको छ ।
आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरको बन्डामा बाँधेर राखिएका हल्दिबारी गाउँपालिका– ५ निवासी चन्द्रप्रसाद ढकालको २३ वर्षीय छोरा गङ्गाप्रसादको बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँसहित चिकित्सकको टोलीले साेमबार दिउँसो उद्धार गरेका हुन् । मानसिक सन्तुलन बिग्रिएका युवक गङ्गाप्रसादलाई अस्पतालमै राखेर उपचार गराउनुका साथै सम्पूर्ण उपचार खर्च बीएण्डसी अस्पतालले व्यहोर्ने कार्यकारी निर्देशक प्रसाईँले बताए ।
गत पुसमा गङ्गाप्रसादको मानसिक सन्तुलन बिग्रिएको थियो । मानसिक सन्तुलन बिग्रिएका गङ्गाप्रसादले गाउँ, छिमेकलाई दुःख दिन थालेपछि उनका बुबा चन्द्रप्रसादले छोरालाई साङ्लोले बाँधेर राख्न बाध्य भएका थिए । उनको घर हल्दिबारी गाउँपालिकाको नयाँ कार्यालय भवन बन्दै गरेको ठिक अगाडी हो ।
‘श्रीमती पनि नभएको अवस्थामा एकलो छोरालाई बाँधेर काममा जानु पर्ने अवस्था थियो, त्यत्तिकै छाडेर जाँदा छोराले गाउँघरमा उत्पात मच्चाउँदै आएको गुनासो छिमेकीहरूले सुनाउँथे,’ उनका बुबा चन्द्रप्रसादले भने, ‘छोरालाई अस्पताल लगेर उपचार गराउने खर्च पनि थिएन, त्यसैले घरमै बाँधेर राखेका थियौँ ।’
छोराको उद्धार बीएण्डसीले गरिदिएकोले अब छोराले पक्कै पनि नयाँ जीवन पाउनेमा उनले खुसी व्यक्त गरेका छन् । चन्द्रप्रसादको घर पनि हल्दिवारी गाउँपालिकाले बनाई दिएको हो । त्यही घरमा उनी छोरासँगै बस्दै आएका थिए ।
चुनावको माहौल तातिएको बेलामा पनि गाउँपालिकाको गेट नै अगाडि यस्तो अवस्था हुँदा समेत कसैको ध्यान गएको बारेमा टाइम्स अफ प्रदेशले समाचार प्रकाशन गरेको थियो ।