२०७९ जेष्ठ ८ गते , आईतबार

'केजिएफ' जसले एउटा फिल्म उद्योगकै भाग्य बदल्यो

sajilo news
झापा
२०७९ बैशाख ३ गते , शनिबार
'केजिएफ' जसले एउटा फिल्म उद्योगकै भाग्य बदल्यो

भारतको कन्नड फिल्म उद्योगमा १० करोडदेखि १५ करोड भनेको ठूलो लगानी हुन्थ्यो। सन् २०१५ मा प्रशान्त नीलले एउटा फिल्मको स्क्रिप्ट तयार पारे जसमा ५० करोडभन्दा बढी लगानी लाग्थ्यो। 

उक्त स्क्रिप्ट नीलका लागि त ड्रिम प्रोजेक्ट थियो नै‚ साथै यो फिल्मले सात दशक लामो इतिहास बोकेको कन्नड फिल्म उद्योगको पनि भाग्य बदल्न सक्छ भन्नेमा उनी विश्वस्त थिए। त्यसैले फिल्म निर्माणमा कुनै कुरामा पनि सम्झौता गर्नु नपरोस् भन्ने उनको चाहना थियो। 

त्यसपछि उनको भेट विजय किरागन्दुरसँग भयो। उनले नीलको महत्त्वाकांक्षी योजनालाई विश्वास गरे र फिल्ममा लगानी गर्न राजी भए। २०१७ को जनवरीदेखि छायांकन शुरु भएको फिल्म २०१८ को शुरुसम्म सकियो। त्यति वेलासम्म फिल्ममा लगानी अपेक्षा गरिएभन्दा बढी भइसकेको थियो। फिल्मलाई कन्नड बाहेक तमिल, तेलुगु र हिन्दी भाषामा पनि डब गरियो। फिल्म प्रदर्शनका लागि तयार हुने वेलासम्म यसको खर्च ८० करोड पुग्यो। 

२०१८ डिसेम्बर २१ मा 'केजिएफ च्याप्टर १' झण्डै २ हजार पर्दामा एकसाथ प्रदर्शनमा आयो, जुन कन्नड फिल्म उद्योगका लागि अर्को नयाँ इतिहास थियो। फिल्मले पहिलो दिन भारतबाट मात्रै १८ करोड कमाइ गर्दै सबैभन्दा ठूलो ओपनिङ गर्ने कन्नड फिल्म बन्यो। साथै विश्वभरबाट २ अर्ब ५० करोड कमाउँदै कन्नड फिल्म इतिहासमा सर्वाधिक कमाउने फिल्म मात्र बनेन‚ सिंगो उद्योगलाई नै देशका ठूला भनिएका फिल्म उद्योगसँग उभ्यायो। 

भर्खरै ुकेजिएफ च्याप्टर २ु प्रदर्शनमा आएको छ। जसको क्रेज अघिल्लो फिल्मको तुलनामा अझ बढी छ। च्याप्टर २ ले केजिएफको अघिल्लो च्याप्टरका कीर्तिमान तोड्दै धेरै नयाँ कीर्तिमान बनाएको छ। जसमा क्षेत्रीय कीर्तिमान त छन् नै‚ साथै भारतीय फिल्मकै इतिहासमा धेरै कीर्तिमान बन्ने अनुमान गरिएको छ। 

१० हजारभन्दा बढी पर्दामा एकसाथ प्रदर्शनमा आएको फिल्मले पहिलो दिन नै १ अर्ब ३० करोडभन्दा बढी कमाइ गरेको थियो। १ अर्ब बजेट रहेको फिल्मले दुई दिनमा २ अर्ब ८० करोडभन्दा बढी कमाउँदै कन्नड फिल्म उद्योगमा सबैभन्दा ठूलो लगानीमा बनेको फिल्म र सबैभन्दा धेरै कमाउने फिल्म दुवैको कीर्तिमान आफ्नो नाममा गरेको छ। 

पहिलो फिल्मको प्रदर्शनदेखि नै लाखौँ दर्शक यसको दोस्रो च्याप्टरको प्रतीक्षामा थिए। दोस्रो च्याप्टरको ट्रेलरलाई भारतीय फिल्मको इतिहासमा २४ घण्टामा सबैभन्दा बढी पटक हेरिएको थियो। फिल्मको प्रदर्शन मिति जुधेपछि  व्यावसायिक रूपम घाटा व्यहोर्नुपर्ने डरले बलिउडका सुपरस्टार आमिर खानको ुलाल सिंह चढ्डाु र साहिद कपूरको ुजर्सीुले प्रदर्शन मिति नै सार्नु परेको थियो। 

पहिलो च्याप्टरले छायाँमा रहँदा रहँदै पनि २ अर्ब ५० करोडको कारोबार गर्नु, दोस्रो च्याप्टरले दुई दिनमै त्यति कमाइ गर्नु‚ तेस्रो च्याप्टरको लागि दर्शकमा व्यग्रता बढाएको छ। केजिएफ सिरिजले यशलाई भारतकै महँगा र लोकप्रिय अभिनेता र प्रशान्त नीललाई उत्कृष्ट लेखक र निर्देशकको रूपमा स्थापित गरेको छ भने कन्नड फिल्म उद्योगलाई पनि भारतको ठूलो फिल्म उद्योगको रूपमा स्थापित गरेको छ।

सम्बन्धित समाचार