नेपाल परिवार नियोजन संघ झापाको साधारणसभा सम्पन्न
झापा । पूर्व कानुन मन्त्री अग्निप्रसाद खरेलले मानिसको यौन शिक्षालाई विद्यालय स्तरको शैक्षिक सामग्रीमा समेट्न अहिलेको आवश्यकता रहेको बताएका छन् ।
नेपाल परिवार नियोजन संघ झापा शाखाको ४४ औ साधारण शाखा सभामा बोल्दै खरेलले आधारभूत स्वास्थ्य सेवा मानिसको मौलिक हक अधिकारभित्र समेटिएको बताए । उनले संविधानको कार्यान्वयनसँगै सम्पूर्ण अधिकारहरू सुनिश्चित भएको बताए ।
नेकपा एमालेका नेता समेत रहेका खरेलले परिवार नियोजन सम्बन्धी ग्रामीण क्षेत्र सम्म जनचेतना फैलाउन जरुर रहेको बताउँदै देशका सबै स्थानीय तहहरूमा संघको विस्तार गर्नुपर्ने बताए ।
संघका अध्यक्ष लोकनाथ भट्टराईले संस्थाको सांगठानिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा प्रदेश सांसद वसन्त बानियाँ, भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, राजकुमार पोखरेल, कन्चना ढकाल, सुभद्रा भट्टराई लगायतले मन्तव्य राखेका थिए । कार्यालय प्रमुख सुजन काफ्लेले संघले सन् २०२१ मा गरेका गतिविधिका बारेमा प्रस्टाएका थिए । भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गणेश पोखरेल र स्वागत मन्तव्य उपाध्यक्ष वृन्दा लुइँटेलले गरेकी थिइन् ।