मेचीनगरको 'भगवती लेमिनेट्स' कर छली प्रकरण : यथेष्ट प्रमाण हुँदा पनि कारबाही गर्न चुक्दै विभाग
‘भगवती लेमिनेट्स’ बजारमा स्थापित भइसकेको प्लाइउड उत्पादक कम्पनी हो । नेम्प्लाई प्लाइउडको नाउँमा कारोबार गर्दै आएको यसले आफूलाई नेपालकै नम्बर १ प्लाइउडको दाबी गर्दै आएको छ । आकर्षक विज्ञापनको खोल ओढेर यसले आम उपभोक्तालाई मात्र ढाँटेको छैन राज्यलाई समेत गुमराहमा राख्न सफल भएको छ । यसले गरिरहेका विभिन्न समयका क्रियाकलापका शृंखला हेर्ने हो भने २ नम्बरी धन्दा गरेको प्रष्ट हुन्छ । ठूलो पैसाको चलखेल गरेरै भए पनि यो आफ्नो बदमासी ढाकछोप गरी पानीमाथिको ओभानो बन्ने प्रयासमा तल्लीन छ । भारतीयको लगानी रहेको यस संस्थामा देखाउनकै लागि भए पनि सञ्चालक भने नेपाली राखेर काम गरिरहेको छ । अनेकौँ फर्जी बिल बनाएर यसले राज्यको ढुकुटीमाथि अक्षम्य घात गरिरहेको छ ।
सरकारी संयन्त्रको आँखा छल्न नक्कली बिलमार्फत करोडौँ रुपैयाँको कारोबार गरे पनि यसमाथि प्रभावकारी छानबिन हुन सकेको छैन । राजस्वमा अनियमितता गरेका प्रमाणहरू सार्वजनिक हुँदासमेत नियामक निकायले आवश्यक तदारुकता नदेखाउँदा यसका गैरकानुनी क्रियाकलापले निरन्तरता पाइरहेका छन् । त्यति मात्र होइन ठगीधन्दामा केन्द्रित भइरहेका अरूहरूको मनोबल पनि बढाएको छ । पैसा र शक्तिको चलखेलले कानुनमा प्वालहरू बनाउन सकिन्छ भन्ने मनोविज्ञानले काम भइरहेको देखिन्छ । राजस्व अनुसन्धान कार्यालयले राजस्व छली प्रकरणमा केही महिना अघि यसलाई कारबाही अघि बढाएको थियो । तर, कारबाही सुरु गरेको विभागले दुई महिना बढी समय बित्दासमेत कुनै ठोस कदम नचाल्दा मुलुकको करोडौँ राजस्व उक्त संस्थाले झ्वाम पार्ने अवस्थामा पुगेको छ ।
एक वर्षको अवधिमा कच्चा बिलमार्फत ८० करोड बढीको कारोबार गरी झण्डै २५ करोड राजस्व छली गरेका आधार भेटिएपछि राजस्व अनुसन्धान कार्यालयले भगवती लेमिनेट्स प्रालिमाथि विस्तृत अनुसन्धान सुरु गरेको थियो । कार्यालयका अनुसार भगवती लेमिनेट्सले आर्थिक वर्ष २०७७(७८ मा मात्रै सरकारलाई राजस्व छली गर्ने उद्देश्यले ८० करोडभन्दा बढीको कारोबार कच्चा बिलमार्फत गरेको पाइएकोे थियो । सो कम्पनीले सबैजसो कारोबार अण्डर इनभ्वाइसमा गर्ने गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरबाट बच्न अण्डर इनभ्वाइसमार्फत कारोबार गर्ने गरिएको जनाइएको छ । विष्णु मधगोरिया र रजनीश कर्नानी भगवती लेमिनेट्सको मुख्य सञ्चालक हुन् ।
डिलरहरू धर्मसंकटमा
‘भगवती लेमिनेट्स’ कर छली प्रकरणमा आफू पनि फसिने हो कि भन्ने त्रासले डिलरहरू पनि झस्किएका छन् । हामीले पूर्वदेखि पश्चिमसम्मका केही डिलरहरूलाई सम्पर्क गर्दा उनीहरू कतिपयले आफू यस विषयमा नबोल्ने भन्दै तर्किन खोजे भने कोहीले यस विषयमा आफूलाई थाहा नभएको जस्तो नक्कलसमेत गर्न भ्याए । दमकका एक व्यापारीले भने, ‘यस विषयमा हामीलाई केही थाहा छैन । यदि कम्पनीले नै बदमासी गरेको हो भने सरकारले छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुप¥यो ।’ अधिकांश बिक्रेताहरूका अनुसार कम्पनीले गल्ती गरे पनि आफूहरू यसमा संलग्न नरहेको र सम्बन्धित कम्पनीलाई सम्बन्धित निकायले कारबाही गर्नुपर्ने भनाइ थियो ।
तर, डिलर र सबडिलरहरूले समेत कारोबार नै बन्द गरी गैरकानुनी कारोबार लुकाएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चासो दिएर नजिकबाट हेरिरहेको बताइएको छ । अख्तियार उच्च स्रोतले राजस्व अनुसन्धान विभाग र कार्यालयले भगवती लेमिनेट्सको राजस्व छली प्रकरणलाई टुंगोमा पुर्याउने गरी छानबिन गर्नुपर्ने बताएको छ ।
अनुसन्धानका क्रममा एकपछि अर्को गरी राजस्व छलीका प्रमाण भेटिएपछि राजस्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयका अनुसन्धान अधिकृतहरूले भगवती लेमिनेट्सका सञ्चालकहरूलाई बयानका लागि बोलाएका थिए । जसमा सात जनामध्ये चारजना बयानका लागि अनुपस्थित भएका थिए । राजस्व विभागलाई हामीले सम्पर्क गर्न खोज्दा अर्को व्यक्तिलाई सम्पर्क गर्नु भन्ने जवाफ आयो भने कसैले प्रक्रिया अघि बढिरहेको भन्नेबाहेक ठोस जवाफ दिएनन् ।
लेमिनेट्सले यस्तै ‘ए’ ग्रेडको प्लाइउड बिक्री गर्दासमेत भ्याट छल्नकै लागि ‘सी’ ग्रेडको बिक्री गरेको भनी बिल जारी गर्ने गरेको पाइएको थियो । सञ्चार माध्यममा यो विषयले प्रवेश पाएपछि बिल मिलाउन डिलर र खुद्रा व्यापारीले १५ दिनसम्म कारोबार बन्द गरेका थिए । त्यसपछि प्लाइउडको कृत्रिम अभाव सिर्जना गरियो र मूल्यसमेत बढाइयो ।
यस कम्पनीमा प्रयोग हुने सबै सामान भारतबाटै आउने गरेको छ । झापाको काँकडभिट्टा नाका भएर सामान नेपाल आउने गरेको छ । त्यसपछि झापामा रहेको कार्यालयमा राखेर देशका बिभिन्न स्थानमा सप्लाई गरिँदै आइएको छ । त्यही भएर पनि रकमको ठूलो चलखेल झापा र इटहरीका शाखामा भेटिएको हो । अहिले कम्पनीले फर्जी कागजात बनाई कारोबार मिलाएर पुनः बिक्री सुरु गरेको छ । त्यस्तै, लेमिनेट्सले कच्चा बिल अर्थात् नर्मल बिल र पक्का बिल अर्थात् भ्याट बिल गर्ने कार्यालय छुट्टाछुट्टै राखी कारोबार गर्दै आएको पाइएको छ । झापाको धुलाबारीमा रहेको कार्यालयबाट कच्चा बिलमार्फत कारोबार हुने र झापाकै मेचीनगरस्थित कार्यालयबाट भ्याट बिलको कारोबार गर्ने गरेको पाइएको छ ।
लेमिनेट्सले आफ्नो आर्थिक अपराधलाई ढाकछोप गर्न विभिन्न शक्तिकेन्द्रलाई प्रभावमा लिएर छलछाम गर्ने ध्याउन्नमै लागिरहेको पाइएको छ । राजस्व अनुसन्धान विभागले अनुसन्धान भइरहेको बताइरहे पनि त्यो औपचारिकता निर्वाह गर्नकै लागि मात्र भएको देखिएको छ । प्रभावकारी ढंगले छानबिनमा ढिलाइ हुँदा कानुनी छिद्रहरू खोजेर उन्मुक्ति गराउने चलखेल भइरहेकोे हो कि भन्ने आशंकाले बल पाएको छ । कारोबारको छापा मारेपछि तत्काल छानबिन अघि बढाउनुपर्ने भए पनि विभागले छानबिनमा ढिलासुस्ती गरिरहेको छ । लेमिनेट्सको प्लाइउडको व्यापार गर्ने डिलर तथा सबडिलरहरूको समेत तत्काल छानबिन गर्नुपर्नेमा विभागले छानबिन प्रक्रियामा ढिलासुस्ती गर्दा त्यसको फाइदा डिलर तथा सबडिलरहरूले उठाएका छन् ।
स्रोतका अनुसार यो विषयलाई केन्द्रीय विभागबाटै अनुसन्धान गर्नुपर्ने भन्दै भगवती लेमिनेट्सको कर छलीको विषयमा अनुसन्धान गरिरहेको विभागको इटहरी कार्यालयलाई रोक लगाइएको छ । केन्द्रीय विगागका उच्च अधिकारीसँग भगवती लेमिनेट्सको साँठगाँठ भएकाले अनुसन्धान गर्नबाट शाखा कार्यालय इटहरीलाई हस्तक्षेप गरिएको आरोप पनि लाग्न थालेको छ । तर, राजस्व अनुसन्धान विभागले भने अनुसन्धान प्रक्रियामा कुनै प्रकारको प्रभावले काम नगर्ने जनाएको छ । आजको हिमालय टाइम्समा समाचार छ ।