काठमाडौँ नगरपालिकाले दियो भद्रपुर नगरपालिकालाई शव वाहन
झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकालाई काठमाडौँ महानगरपालिकाले एसीसहितको शव वाहन सहयोग गरेको छ । शुक्रबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित एक संक्षिप्त कार्यक्रमका बिच भद्रपुर नगरपालिकालाई शव वाहन हस्तान्तरण गरिएको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई शव वाहनको चाबी हस्तान्तरण गर्नुका साथै सम्झौतापत्र आदान–प्रदान गरेका थिए ।
मानवीय सेवाका लागि सेवा प्रदायक संस्था तथा पालिकाहरूलाई सहयोग गर्ने महानगरपालिकाको वार्षिक कार्य योजना अनुसार झापा जिल्लाकै पहिलो र पुरानो नगरपालिकालाई शव वाहन सहयोग गरिएको बताउँदै महानगरपालिकाका प्रमुख शाक्यले यो सहयोग मानवीय सेवामा उपयोगी हुने विश्वास व्यक्त गरे भने भद्रपुर नगरप्रमुख श्रेष्ठले अति आवश्यक सवारीसाधन सहयोग गरेकोमा महानगरपालिका र त्यसका लागि समन्वय गर्ने भद्रपुर काठमाडौँ सरोकार समाजका सचिव झलेन्द्र भट्टराई, झापा मिलन केन्द्र भक्तपुरका सचिव झापा चन्द्रगढी निवासी राममणि न्यौपानेलगायतलाई धन्यवाद दिए।
महानगरका कानुन विभाग निर्देशक वसन्त आचार्यले सञ्चालन गरेको समारोहमा महानगरका सहरी योजना विभागका उपाध्यक्ष सरोज बस्नेतले महानगरको कार्य योजना र शव वाहनको उपयोग बारे प्रकाश पारेको थियो भने महानगरका भण्डार महाशाखाका अधिकृत सौरव गौतम, राष्ट्रिय अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख सुदर्शन भट्टराई, मेकानिकल इञ्जिनयर प्रमोद डङ्गोललगायतको उपस्थिति थियो ।
प्रसिद्ध भारतीय मोटर कम्पनी टाटाको उक्त शव वाहनको नम्बर बागमती ०१–०२ झ ५९५५ रहेको छ । सो सवारीसाधनको बजार मूल्य करिब ३१ लाख रुपैयाँ रहेका बताइन्छ ।