२०७९ जेष्ठ ८ गते , आईतबार

नागरिकता नहुँदाको पीडा : 'पढेर जागिर पाइँदैन, बरु ज्याला मजदुरी नै ठिक'

sajilo news
झापा
२०७८ चैत्र २४ गते , विहीबार
नागरिकता नहुँदाको पीडा : 'पढेर जागिर पाइँदैन, बरु ज्याला मजदुरी नै ठिक'

(दीपेश राजवंशी) भद्रपुर । स्थानीय तहको निर्वाचन २०७९को लागि नेपाल सराकारले एक लाख म्यादी प्रहरीका लागि दर्खास्त आव्हान ग¥यो । देशमा रहेको बेरोजगार युवाहरुको लागि यो एउटा राम्रो अवसर हो तर एक जमातमा त्यस्तो युवा पनि छन् जो नेपालमा जन्मिएर नेपाली हुनुमा गर्व गर्छन् । शिक्षित छन्, शारीरिक तन्दुरुस्ती छ, म्यादी प्रहरीमा भर्ती भएर राष्ट्रको सेवा गर्ने जोस, जाँगर पनि छ तर बिडम्बना उनीहरुसँग नेपाली नागरिकता नै छैन ।

भद्रपुर–७, बुधकरण टी इस्टेटको क्वाटरमा बस्ने एलिसा खेरवारले शिक्षा संकायमा १२ कक्षा उत्तीर्ण गरेकी छन् । तर, यतिबेला उनलाई चिया बगानमा चियाको पात टिप्न धमाधम छ । यो उनको दैनिकी वा रहर नभई बाध्यता भएको उनी बताउँछिन् । बि.सं. २०५५ साल माघ ५ गते बुबा रामप्रसाद खेरवार र आमा गीता खेरवारको पाँच छोरीहरुमध्ये काइँली छोरीको रुपमा भद्रपुर–७मा उनको जन्म भयो । उनका बुबाआमा दुबै साढे तीन दशकदेखि बुधकरण टी इस्टेटमा चिया मजदुरको रुपमा काम गर्दै थिए ।

तर, बुबाआमा दुबैलाई बुढेसकाल लागेपछि परिवारमा चरम आर्थिक अभाव खड्कियो अनि एलिसाको पढाइलाई निरन्तरता दिने सपना पनि त्यहीँ टुंगियो । उनले मोरान मेमोरियल स्कूलबाट २०७१ सालमा एसएलसी र वीरेन्द्र नमूना क्याम्पसबाट २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरिन् । स्पष्ट नेपाली र अंग्रेजी दुबै भाषामा बोल्न र लेख्न जान्ने उनी आफ्नो राष्ट्रियता झल्काउने नागरिकता नहुँदा दुःखी छिन् । उनका बुबाआमा दुबैको जन्मसिद्ध नगरिकता भए पनि छोरीहरुले अहिलेसम्म नागरिकता पाउन सकेका छैनन् । एलिसा भन्छिन्– मैले पढ्ने मन हुँदाहुँदै पनि परिवारको आर्थिक अवस्था र नागरिकता बिनाको अन्यौल भविष्य सम्झेर अगाडि पढ्न सकिनँ । जुनसुकै काम होस्, चाहे त्यो सरकारी होस् या निजी, नागरिकता अनिवार्य छ । तर, मसँग नागरिकता नहुँदा मैले पढेर पनि मेरो योग्यताले भ्याउने अवसर पाउन सक्दिनँ र मैले ज्याला मजदुरी नै गर्नुपर्छ भने मैले किन पढ्ने जस्तो पनि लाग्छ ।

एलिशाकै कान्छी बहिनी आशा अहिले १९ बर्षकी भइन् । उनी अहिले वीवीएस प्रथम बर्षमा अध्ययनरत् छिन् । बि.स. २०६० साल माघ १६ गते जन्मिएकी आशाले मोरान मेमोरियल स्कूलबाट २०७५ सालमा एसएलसी र २०७७ सालमा व्यवस्थापन संकायबाट १२ उत्तीर्ण गरेकी छन् । पढाइमा जेहेन्दार आशा परिवारको नै आशा हुन् । उनले भविष्यमा बैंकर्स बन्ने लक्ष्य राखेकी छन् । तर, अहिलेसम्म नागरिकता नपाउँदा उनको लक्ष्य अनि उनी प्रति परिवारको आशा कतै निराशामा परिणत त हुँदैन भनेर उनी बेला–बेला टोलाउने गर्छिन् । मीठो स्वरकी धनी आशा गीत गाउन, कथा पढ्न रुचाउँछिन् । जतिसुकै गाह्रो अवस्था भए पनि आफ्नो समुदायको उत्थानको लागि काम गर्ने उनको सपना छ ।

केही दिन पहिले नेपाल प्रहरीले स्थानीय चुनाबको लागि म्यादी प्रहरीको दर्खास्त आव्हान गरेको थियो । तर नागरिकता नभएकै कारण आफूले म्यादी प्रहरीमा समेत भर्ती हुन नपाउँदाको दुःख व्यक्त गर्दै आशा भन्छिन्– मेरा सबै साथीहरु म्यादी प्रहरीमा भर्ती हुन गए तर मसँग नागरिकता नभएकै कारण मैले त्यो अवसर पाउन सकिनँ । साथीहरु प्राक्टिस गर्छन्, मलाई पनि मन लाग्छ तर के गर्नु मसँग नागरिकता छैन । भर्ती हुन पाएको भए त्यो पैसाले आफ्नो पढाइ र परिवारको धेरै आवश्यकता पूरा गर्न मद्दत पुग्थ्यो ।

एलिसा र आशा जस्तै यस वार्ड नम्बर ७ भित्र अरु थुप्रै परिवार छन् । जहाँ बुबा आमाले जन्मसिद्ध नागरिकता पाएका त छन् तर तिनका छोराछोरीहरुले अझै पाएका छैनन् । चुनावै पिच्छे विभिन्न दलका नेता र तिनका कार्यकर्ता अनेक सपना दिन त्यस गाउँमा पुग्ने त गर्छन् तर चुनाव सकिएपछि ती नेताहरुलाई फेरि कहिल्यै देख्न नपाएको गुनासो गर्छिन्– स्थानीय ५८ बर्षीया मङ्ली सोरेन ।

यस्तै नागरिकता नभएको पीडा खेपिरहेका धेरैमध्ये अर्का एक हुन्– २० बर्षीय युवा साम्युल हेमरम । कक्षा १२मा अध्ययनरत् साम्युलले वीएड पास गरेर शिक्षक बनेर ग्रामीण भेगमा बसोबास गर्ने सन्थाल समुदायमा व्याप्त अशिक्षाको अन्धकार हटाउने लक्ष्य राखेका छन् । नेपाललाई आफ्नो प्राणभन्दा पनि धेरै माया गर्ने साम्युल आफ्नो अन्यौल भविष्यप्रति चिन्तित छन् । उनी भन्छन्– म यही देशमा जन्मिएँ, मेरो आमा बुबाको दुबैको जन्मसिद्ध नागरिकता छ तर मेरो नागरिकता पाउने उमेर हुँदाहुँदै पनि पाएको छैन, अनि दुःख लाग्छ । गीत गाउन, फुटबल खेल्न रुचाउने साम्युल नेपाली राष्ट्रिय फुटबल टोलीमा सामेल हुने रहर भएर पनि नागरिकता नभएकै कारण त्यो पूरा नभएको बताउँछन् ।

साम्युल थप्छन्– साथीहरु कता–कता फुटबल क्लबतिर छिर्छन्, नागरिकता नहँुदा त्यो अवसर पनि मैले पाएको छैन । गरिबी र बेरोजगारी त छदैछ, त्योभन्दा पनि ठूलो समस्या हो नागरिकता नहुनु । यही माटोमा जन्मेँ, हुर्केँ तर नागरिकता छैन, कतै म शरणार्थी पो हुँ कि भन्ने भान आफूलाई हुने गरेको उनी बताउँछन् ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार बुबाआमाको जन्मसिद्ध नागरिकता भएता पनि तिनका छोराछोरीलाई जन्मको आधारमा नागरिकता दिने कानून बनिनसकेको छैन । अदालतले पनि कानून बनाएर मात्रै दिनु भनेको हुनाले झापामा मात्र नभइ नेपालको कुनै पनि जिल्लामा नागरिकता नदिएको उनले बताए ।

सरकारी वा गैरसरकारी जुनसुकै क्षेत्रमा पनि आबद्ध हुन या वैदेशिक रोजगारीकै लागि भए पनि सबैभन्दा पहिले चाहिने आधार नै नागरिकता हो । देशको अमूल्य सम्पत्ति भनेको नै त्यस देशका युवाहरु हुन् तर तिनै युवाहरुमध्ये केही युवाहरुले नागरिकता नपाई अन्यौलमा आफ्नो भविष्य खोजिरहेको अवस्था छ भने अर्कातिर राष्ट्रले पनि ती कर्मठ युवाहरुको शारीरिक र बौद्धिक क्षमता देश बिकासको लागि उपयोग गर्न नसक्नु बिडम्बना हो । प्रशिक्षार्थी पत्रकार

सम्बन्धित समाचार