टाइफाइटविरुद्ध भद्रपुरका १७ हजार बालबालिकालाई खोप लगाउने तयारी
भद्रपुर । टाइफाइट विरुद्ध भद्रपुरमा १७ हजार ९ सय १६ जना बाल बालिकालाई खोप लगाइने भएको छ । स्वास्थ्य शाखा भद्रपुरको आयोजनामा भएको राजनीतिक दल, सरोकारवाला शाखा प्रमुख तथा सञ्चारकर्मी सितको अन्तरक्रिया कार्यक्रममा नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप अभियान अन्तर्गत बाल बालिकालाई विद्यालयमै पुगेर खोप लगाइने भएको हो ।
१५ महिना देखि १५ वर्षसम्म उमेर समूहका १७ हजार ९ सय १६ जना बालबालिका भद्रपुर नगरपालिका भित्र रहेको जानकारी दिँदै स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराई यो खोप लगाउन सबै पक्षको सहयोग औँल्याएका छन् । स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले सहजीकरण गर्दै अन्य उमेर समूहमा भन्दा १५ महिनादेखि १५ वर्षसम्मका समूहका व्यक्तिहरूलाई रोगको संक्रमण ११ गुणा बढी हुने भएकाले पनि पहिलो चरणमा लक्षित समूहले खोप लगाउनै पर्ने प्रस्ट पारेका छन् ।
विद्यार्थीहरूलाई विद्यालयमै र विद्यालय नजाने बालबालिकाहरूलाई निर्धारित खोप केन्द्रमा यो सेवा उपलब्ध हुने पनि उनले बताएका छन् । उनका अनुसार दुई सयभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई नजिकको केन्द्रमा खोप लगाउने प्रबन्ध मिलाइएको छ भने सो भन्दा बढी विद्यार्थी रहने विद्यालयमै खोप केन्द्रका रूपमा चैत्र २५ गतेदेखि ७ दिनसम्म खोप लगाइने छ । खोप लगाएपछि केही शारीरिक प्रतिक्रिया आउन सक्ने भए पनि कुनै क्षति नहुने हुँदा नडराउन समेत भट्टराईले आग्रह गरेका छन् ।