२०८३ बैशाख २१ गते , सोमबार

पूर्वमा बम आतंक मच्चाउने हिमाल सुरक्षा परिषद्का मुख्य नाइके खरेलसहित थप चारजना पक्राउ

sajilo news
झापा
२०७८ चैत्र १९ गते , शनिबार
पूर्वमा बम आतंक मच्चाउने हिमाल सुरक्षा परिषद्का मुख्य नाइके खरेलसहित थप चारजना पक्राउ

झापासहित पूर्वका जिल्लामा भूमिगत शैलीमा आतंक सिर्जना गर्ने  हिमाल सुरक्षा परिषद्का  मुख्य नाइके खगेन्द्र खरेल पक्राउ परेका छन् । बिर्तामोड र दमकमा बम आतंक सिर्जना गर्दै सशस्त्र युद्धको घोषणा गरेको हिमाल सुरक्षा परिषद्का मुख्य अभियुक्तलाई प्रहरीले भारतबाट पक्राउ गर्न सफल भएको छ ।

प्रहरीले चार दिन अघि इटहरी २ स्थित एक घरमा बम विस्फोट भएको घटनाको मुख्य योजनाकारसहित चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा घटनाको मुख्य योजनाकार झापाको कनकाई नगरपालिका ८ लक्ष्मीपुरका ४३ वर्षीय सञ्जय भन्ने खगेन्द्र खरेल रहेका छन् ।

यस्तै, इटहरी २ की ३२ वर्षीय आशा ठकुरी भन्ने लक्ष्मीदेवी थापा ९ठकुरी०, उनका छोरा २० वर्षीय रविन थापा र लमजुङको ढोडेनी गाउँपालिका ७ स्थायी घर भएका २३ वर्षीय शेरजंग गुरुङ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई सुनसरी जिल्ला अदालतबाट बम विस्फोटन र संगठित अपराध मुद्दामा म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनामा संलग्न अन्याको पनि प्रहरीले खोजी गरिरहेको छ ।

गत चैत १४ गते इटहरी २ स्थित अमिर श्रेष्ठको घरमा डेरा गरि बसेका लक्ष्मी थापाको कोठामा बम विस्फोट भएको थियो । उक्त विस्फोटमा कोठामा क्षति पुगेको थियो भने लक्ष्मीका छोरा रविन र शेरजंग घाइते भएका थिए । उनीहरूलाई तत्काल उपचारको लागि पठाइएको थियो । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा भएको विस्फोटको घटनाले सुरक्षा निकायलाई चुनौती खडा गरेको थियो ।

उक्त घटनाको अनुसन्धानमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी, संघीय प्रहरी इकाई कार्यालय धरानको अनुसन्धान टोली, जिल्ला प्रहरी कार्यालयबाट समेत गरी प्रहरी टोली परिचालित भएको थियो । प्रहरीले घटना पछि फरार रहेकी लक्ष्मीदेवीलाई बिहीबार लुकीछिपी बसेको अवस्थामा इटहरी २ बाट नै पक्राउ गरेको थियो ।

उनको छोरा रविनलाई पनि उपचार पश्चात् बिहीबार नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको मुख्य योजनाकार खगेन्द्र खरेललाई पनि काँकडभिट्टाबाट नियन्त्रणमा लिएको थियो भने उपचार पश्चात् शेरजंगलाई शुक्रबार नियन्त्रणमा लिएर जिल्ला अदालतबाट म्याद थप गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लक्ष्मीदेवीको कोठाबाट बैंकको चेक बुक १ थान, राष्ट्रिय स्वाधीनताको लडाइँमा जनताको असल साथी राजा सिएफएन कफन स्थापना २०७० अवधारणा लेखिएको पहेँलो रङ्गको सानो पर्चा ३३ थान, ठुलो पर्चा १० थान, सेतो रङ्गको पर्चा ५ थान र रातो रङ्गको पर्चा ५५ थान पनि बरामद भएको थियो । यस्तै, हिमाल सुरक्षा परिषद् नेपालको पर्चा, कफन लेखिएको अर्धकट्टी सदस्यता कार्ड २८ थानलगायत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मुख्य योजनाकार खरेल हिमाल सुरक्षा परिषद् नेपालको केन्द्रीय अध्यक्ष हुन् । उनी यसअघि २०७६ सालमा पक्राउ परेका थिए । प्रहरीका अनुसार २०७६ बैशाख २८ गते झापाको कनकाई पुलमा समेत गोर्खा जनमुक्ति पार्टीको नाममा ग्रेटर नेपालको माग राखेर विस्फोटक पदार्थ तथा संगठित अपराध कसुरमा दुई वर्ष पाँच महिना कैद सजाय भुक्तान गरी झापा जिल्ला कारागारबाट छुटेका व्यक्ति पनि हुन् ।

यसअघि माघ ९ गते बिर्तामोडस्थित पश्चिम बस स्टेण्डमा र माघ १३ गते झापाको दमकस्थित शिवान चर्चमा हिमाल सुरक्षा परिषद्को पर्चाहरूसहित प्रेसर कुकर बम राखेर आंतक सिर्जना गरेको घटनाको पनि मुख्य योजनाकार हुन् । उनको साथबाट मोबाइल, सिम कार्डसँगै विभिन्न बैंकको चेक बुक, रकम पठाएको र जम्मा गरेको आइएमई रसिद ४ थान, हिमाल सुरक्षा परिषद् नेपाल केन्द्रीय कमिटीको छाप, अर्जुन लेखिएको छाप, इन्चार्ज केन्द्रीय कमिटी हिमाल सुरक्षा परिषद्, अध्यक्ष केन्द्रीय कमिटी हिमाल सुरक्षा परिषद् नेपाल लेखिएको छाप पनि प्रहरीले बरामद गरेको छ ।

भारतमा बसेर नेपालमा आतंक सिर्जना गर्ने समूहका ९ जनालाई झापा प्रहरीले पक्राउ गरे पनि मुख्य अभियुक्त खरेल भने पटक पटक पक्राउ पर्नबाट जोगिदैं आएका थिए ।  जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटिएका प्रहरीले खरेललाई भारतको नकलबन्दा क्षेत्रबाट भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याएको र थप अनुसन्धानका लागि सुनसरी प्रहरीलाई जिम्मा दिइएको बताइएको छ ।

प्रहरीले हिमाल सुरक्षा परिषद्का मुख्य अभियुक्त नै पक्राउ परेकाले सबै गिरोहलाई पक्राउ गर्न सफल भएको जनाएको छ । हिमाल सुरक्षा परिषद्ले सशस्त्र युद्धको घोषणा गर्दै आतंक सिर्जना गरेको थियो । झापासहित अन्य जिल्लामा चन्दा आतंक मच्चाई रहेको हिमाल सुरक्षा परिषद्का मुख्य अभियुक्त पक्राउ परेसँगै उसका गतिविधि निस्तेज हुने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार