२०८३ बैशाख २४ गते , विहीबार

बिएण्डसीद्वारा बाह्रदशीका १५ सय विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा 

sajilo news
झापा
२०७८ चैत्र ८ गते , मंगलबार
बिएण्डसीद्वारा बाह्रदशीका १५ सय विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा 

बिएण्डसी मेडिकल कलेजले झापाको बाह्रदशी गाउँपालिकाका १५ सय गरिब एवं विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ। कलेजले सोमबार एक कार्यक्रम आयोजना गरी उक्त जानकारी दिएको हो। अस्पतालका कार्यकारी निर्देशक तथा नेकपा एमाले केन्द्रीय नेता दुर्गा प्रसाईँले अस्पतालको तर्फबाट प्रतिपरिवार ३५०० बिमा शुल्क तिरिदिने घोषणा गरेका छन् ।

आर्थिक अभावका कारण उपचारबाट कोही वञ्चित नहोस् भन्ने उद्देश्यले स्वास्थ्य बिमामा समाहित गराउने अभियान सुरु गरेको कार्यकारी निर्देशक प्रसाईँको भनाइ छ। कार्यक्रममा बोल्दै उनले भने, ‘म दानवीर हैन। तर, म नेपाल आमाको छोरा भएकोले दुःख थोरै बाडौं भनेर म यहाँ आएको हुँ। शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराबाट नागरिक वञ्चित हुनु हुँदैन भन्ने मेरो धारणा हो। अहोरात्र नागरिकको सेवामा खटिरहेको हाम्रो अस्पतालले उपचारका लागि आएका नागरिकलाई हुने सक्ने सेवा सुविधामा छुट गरिदिने छ।’

यस्तै, कार्यक्रममा बोल्दै प्रदेशका सांसद वसन्त बानियाँले झापाको पछाडि परेको क्षेत्रमा निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य नागरिक बनाउने यो महाअभियानको सुरुवात भएको जनाए । उनले भने, ‘यस क्षेत्रको स्वास्थ्य सेवालाई नयाँ उचाइमा लग्नेछ । निःशुल्क स्वास्थ्य बिमाले बिमाको पहुँचमा नभएकालाई राज्यले दिएको सेवा लिन सक्छन् ।’

उक्त अभियान निरन्तर हुनेमा आफू विश्वस्त रहेको उनले बताए । निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य क्षेत्रका लागि अस्पतालको महत्त्वाकाङ्क्षी योजना रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्रकुमार यादवले बताए। ‘यसबाट पिछडिएका नागरिकलाई ठुलो राहत मिल्नेछ । अझ क्यान्सर बिरामीको लागि यो पैसा ठुलो सहयोग हो’, उनले भने । पूर्वाञ्चल क्यान्सर अस्पतालले ४० वर्षमाथिका महिलाको पाठेघर र स्तन क्यान्सरको निःशुल्क स्क्रिनिङ गरिरहेको उनको जानकारी गराए ।

सम्बन्धित समाचार