२०८३ बैशाख २४ गते , विहीबार

कचनकवलमा हात्ती पाईले रोगविरुद्धको औषधि सेवन अभियान सफल बनाउनेमा जोड

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १६ गते , सोमबार
कचनकवलमा हात्ती पाईले रोगविरुद्धको औषधि सेवन अभियान सफल बनाउनेमा जोड
झापा । कचनकवल गाउँपालिकामा यही फागुन २८ गते हात्ती पाईले रोगविरुद्धको औषधि सेवन गराउने तयारी गरिँदैछ । सोही विषयमा गाउँपालिकाको स्वास्थ्य शाखाले सञ्चारकर्मी, राजनीतिक दल तथा समाजसेवीको सहभागितामा सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाभित्र यस अभियानलाई सफल बनाउन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए । एक दशकदेखि अभियान सञ्चालन भइरहेको झापा जिल्लामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकोले एघारौँ पटक अभियान सञ्चालन हुन लागेको हो ।
प्रदेश १ मा झापा र मोरङमा यो कार्यक्रम सञ्चालन हुँदैछ । यसका लागि झापामा ६ सय स्वास्थ्यकर्मी र त्यति नै सङ्ख्यामा स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन् भने जिल्लाका ८ लाख ४३ हजार नागरिकलाई औषधि सेवन गराउने लक्ष्य छ । उक्त सङ्ख्याका लागि करिब ९ लाख चक्की एडबान्डाजोल र  २० लाख चक्की डीइसी औषधिको व्यवस्था गरिएको छ ।
ब्राक्रोप्टी नामको परजीवीबाट लाग्ने हात्तीपाइले रोग सरुवा रोग मानिन्छ । उक्त परजीवी एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको टोकाइबाट सर्दछ । यो रोग लागेका व्यक्तिहरूमा खुट्टा हात सुन्ने, पुरुषमा हाइड्रोशील हुने, महिलामा यौनाङ्ग तथा स्तन सुन्निने हुन्छ । यो रोग लागिसकेपछि उपचार नहुने हुँदा रोग लाग्न नदिने उपायको रुपमा आम औषधि औषधि सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
पछिल्लो तथ्याङ्क अनुसार झापामा हात्तीपाइले आशङ्का गरिएका २९० बिरामी छन् । तीमध्ये १४६ जनामा हाइड्रोशील, १४० जना खुट्टा सुन्निएको र ६ जना हात र स्तन सुन्निएका बिरामी रहेको छ । 

सम्बन्धित समाचार