२०८३ बैशाख १५ गते , मंगलबार

पूर्वी नाका काँकडभिट्टाबाट विस्फोटक पदार्थ नेपाल भित्राउने मगर पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ माघ २६ गते , बुधबार
पूर्वी नाका काँकडभिट्टाबाट विस्फोटक पदार्थ नेपाल भित्राउने मगर पक्राउ

झापा । ढुंगाखानीका ठेकेदारलाई बिक्री गर्ने उद्देश्यले बारुदजन्य विस्फोटक पदार्थ नेपाल भित्राउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दी जिल्ला मालिका गाउँपालिका– २ रुम निवासी २८ वर्षीय चिरन रोका मगर रहेको प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डिएसपी वसन्त पाठकले जानकारी दिए । 

भारतबाट पूर्वी नाका हुँदै पटक पटक लुकाइछिपाई बारुदजन्य विस्फोटक पदार्थ नेपाल भित्राउने मगरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको (आरआइटी) शाखा, प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले संघीय प्रहरी इकाई कार्यालय गण्डकी पोखराको सहयोगमा घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हुन् ।  

गत माघ १८ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाको टोलीले विशेष सूचनाका आधारमा मेचीनगर– ६ स्थित गैरी गाउँमा नेपाल–भारतको सीमा पिलर ९०/१ र ९०/२ नम्बरको बिच मेची नदीको बालुवामा गाडिएको अवस्थामा खैरो पाङ्ग्रे झोलाभित्र इलेक्ट्रोनिक डेटोनेटर ८० थान र नेपोलाइट ९१ थान बरामद गरेको थियो । 


यसरी परे मगर पक्राउ

सशस्त्रले दशगजा क्षेत्रबाट विस्फोटक पदार्थ बरामद गरेपछि झापा प्रहरीले घटनाको विषयमा अनुसन्धान सुरु ग¥यो । प्रहरीका अनुसार माघ ११ गते पक्राउ परेका मगर म्याग्दीबाट पोखरा आई त्यहाँबाट रात्रीबस चढेर भोलिपल्ट काँकडभिट्टा बजारमा झरेको र भारत प्रवेश गरी मेघालय राज्यको सिलोङ्गसम्म पुगे । सिलोङ्गमा केही दिन बसेर उनले त्यहाँबाट ३ हजार भारतीय रुपैयाँमा ८० थान नेपोलाइट र ९१ थान इलेक्ट्रिक डेटोनेटर खरिद गरे । त्यसपछि माघ १८ गते मग नेपाल प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पाठकले बताए । 

मगर नेपाल आएपछि मेचीनगर– ७ गैरी गाउँमा पुगेर एक सिटी सफारी चालकलाई भेटेर आफ्नो झोलामा ब्याट्री छ र उक्त झोला लिएर काँकडभिट्टाको कृष्ण होटेलसम्म ल्याउनु पर्ने भनेका थिए । सिटी चालकलाई एक हजार दिने भनिएको थियो । चालक घटनास्थल पुगेर झोला हेर्दा विस्फोटक पदार्थ रहेको थाहा पाएपछि तत्काल सशस्त्रलाई खबर गरेका थिए । 

चालकले दिएको बयानको आधारमा मगरको पहिचान गरी उनलाई म्याग्दीबाट पक्राउ गर्न सफल भएको डिएसपी पाठकले बताए । ‘प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका मगर कुनै भूमिगत राजनीतिक सङ्गठन तथा आपराधिक समूहमा संलग्नता रहेको देखियो,’ डिएसपी पाठकले भने, ‘ढुंगाखानीको ठेकेदारहरूलाई खानीमा ब्लाष्टिङ्ग गराउन प्रति सेट नेपाली ३ हजारदेखि ३ हजार ५ सयसम्म विक्री गर्नका लागि विस्फोटक पदार्थ खरिद गरी ल्याएको पाइयो ।’ मगरलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विस्फोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा दर्ता गराई थप अनुसन्धान अघि बढाएको उनले बताए । 

यस्तो छ मगरको पृष्ठभूमि

पक्राउ परेका मगर सामान्य मजदुरी गर्ने व्यक्ति हुन् । उनी २०७२ सालमा भारतको सिलोङ्गमा रहेको कोइला खानीमा काम गरी ६ महिनापछि नेपाल फर्किए । त्यहाँबाट फर्किएपछि उनी केही समय वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए । मलेसियाबाट फर्किएपछि गाउँ घरमै खेतीपाती गर्ने र कहिले काहीँ ढुंगाखानीमा मजदुरी गर्दै आएको इलाका प्रहरी कार्यालय काँकडभिट्टा डिएसपी सुनिल दाहालले जानकारी दिए । 

रुम गाउँ र बाग्लुङ्ग जिल्लाको तार खोला, खोला खर्क गाउँमा ठुला ठुला ढुंगाखानी रहेको र सो ढुंगाखानीलाई फोर्नको लागि स्थानीय तहले ठेक्का लगाएका छन् । सो आम्दानीबाट स्थानीय तहले विद्यालय सञ्चालन तथा विकास निर्माण कार्यमा खर्च गर्दै आइरहेको बुझिएको छ । 

ठेक्का लिएका ठेकेदारलाई ढुंगाखानी फुटाउन अत्यन्तै कठिन हुने र जनशक्ति पनि धेरै खर्च हुने भएकोले विस्फोटक पदार्थ आवश्यक देखियो । सो प्रयोजनका लागि मगरले भारतबाट विस्फोटक पदार्थ ल्याउने काम सुरु गरे । उनले २०७२ सालमा नेपाल फर्किए लगतै त्यहाँबाट १५० थान नेपोलाइट र १५० थान डेटोनेटर प्रति सेट भारु ३५ सय खरिद गरी लगेका थिए । ल्याएको । त्यस बेला उनले ढुंगाखानीका ठेकेदारहरूलाई प्रति सेट ८ सयको दरले विक्री गरेका थिए । दोस्रो पटक २०७४ सालमा पनि सिलोङ्ग गई ५० सेट नेपोलाइट र डेटोनेटर लिएर गएका उनले प्रति सेट एक हजारको दरले विक्री गरे ।

तेस्रो पटक उनले २०७५ चैत ११ गते सिलोङ्ग गई नेपोलाइट र डेटोनेटर खरिद ल्याउने क्रममा दार्जिलिङ जिल्ला पानीटंकी सीमा नाकामा भारतीय प्रहरीले डेटोनेटर ३५० थान र नेपोलाइट २०१ थानसहित पक्राउ गरेको र ६ महिना सिलगुढी जेलमा कैद सजाय भुक्तान गरी रिहा भए । सोही बेला उनले ५० थान डेटोनेटर र १९९ थान नेपोलाइट भएको अर्को झोला काँकडभिट्टा भन्सार गेट नजिक बेवारिसे अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले फेला पारेको थियो । विस्फोटन सम्बन्धी कसुरमा अनुसन्धान गरेकोमा उनलाई झापा जिल्ला अदालतले ३० हजार धरौटीमा रिहा गरेको डिएसपी दाहालले बताए ।   



सम्बन्धित समाचार