२०८१ माघ २५ गते , शुक्रबार

हिन्दु राज्यको माग राख्दै परिषद्ले राख्यो झापामा कुकर बम, सेनाद्वारा डिस्पोज

sajilo news
पार्थ मण्डल
२०७८ माघ ९ गते , आईतबार
हिन्दु राज्यको माग राख्दै परिषद्ले राख्यो झापामा कुकर बम, सेनाद्वारा डिस्पोज

झापा । हिमाल सुरक्षा परिषद् मेची अञ्चल नामक संस्थाले  झापामा राखेको इप्रोभाइज एक्सपोलिसिभ डिभाइस (आइडी) कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । 

परिषद्ले पूर्व–पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड– १ स्थित पश्चिम बस स्ट्यान्डमा विभिन्न २० बुँदे मागसहितको कुकर बम राखेका थिए । आइतबार बिहान पौने ६ बजे स्थानीयले कुकुर बम जस्तो शङ्कास्पद वस्तु देख्न साथ स्थानीय प्रहरीलाई खबर गरेका थिए । 

त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर नेपाली सेनालाई खबर गरेका थिए । श्री नयाँ श्रीनाथ गण चार आलीबाट खटिएको बम डिस्पोजल टोलीले सो कुकर बमलाई घटनास्थलदेखि २ सय मिटर पर लगेर डिस्पोज गरेको गणका प्रमुख सेनानी अमर जङ्ग थापाले जानकारी दिए । 


‘शङ्कास्पद भन्दा पनि कुकरभित्र विस्फोटक पदार्थ राखिएको थियो,  कुकरमा बारुद, तार र बेरिङ भेटिएको छ,’ प्रमुख सेनानी थापाले भने, ‘यसलाई आइडी अर्थात् कुकर बम भनिन्छ, डिस्पोज पछि बनाइएको बमको सेनाले जाँच गर्दैछ ।’ यता प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलका अनुसार हिमाल सुरक्षा परिषद् मेची अञ्चल नामक संस्थाले पर्चासहित सो बम राखेको बताए । 

जिल्लामै पहिलो पटक नाम सुनिएको परिषद्ले जिल्लावासीलाई तर्साउनलाई सो बम राखेको हुन सक्ने उनको भनाई छ । प्रहरीले घटनास्थलमा फेला पारेको पर्चामा नेपालमा धर्मनिरपेक्षता खारेज गरी हिन्दु राज्य कायम गरिनु पर्ने, संघीयता खारेज गरिनु पर्ने, नागरिकता छानबिनका लागि आयोग गठन हुनुपर्ने, पुरानै पाँच विकास क्षेत्र कायम गरिनुपर्ने लगायतको माग राखेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार