२०८३ भाद्र १४ गते , आईतबार
झापामा पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध विरोध प्रदर्शन
झापा । अनेरास्ववियु झापाले पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध विरोध प्रदर्शन गरेको छ । आज बिर्तामोडको मुक्ति चोकमा भेला भएका विद्यार्थीले मूल्य वृद्धि गरेको भन्दै सरकार विरुद्ध नाराबाजी गरेका छन् ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि र सरकारका गलत गतिविधि विरुद्ध आवाज उठाउँदै अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा मागेका छन् । अनेरास्ववियुका विद्यार्थीले सरकारले खोप गायब गरेको भन्दै खबरदारी गरेका छन् ।
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै युवा नेता टिकाराम मग्रातीले सरकारले जनताको ढाड सेक्ने काम गरेको बताएका छन् । पटक पटक मुल्य वृद्धि गर्दै सरकार नागरिकको जिम्मेवारीबाट भागेको आरोप लगाए । मग्रातीले भने, अनेरास्ववियु झापाले आम नागरिकको पक्षमा आवाज उठाएको छ ।
अनेरास्ववियु झापाका अध्यक्ष रोशन लामाले तत्काल मूल्य वृद्धि फिर्ताको माग गरेका छन् । उनले मुल्य वृद्धि फिर्ता नगरे सडकबाटै सरकारलाई तह लगाउने चेतावनी दिए । लामाले भने, परमादेश सरकारको दिन गन्ती सुरु भइसकेको छ । अब, विद्यार्थीको माग सुनुवाइ नभए त्यसको क्षति भयानक हुने बताए ।