कोरोना ‘रेड जोन’मा झापा : सीमा नाकामा कडाइ, नागरिकको हेलचेक्र्याइँ उस्तै
(नरेन्द्र ढकाल) झापा । पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएसँगै देशभर संक्रमण दर ह्वात्तै बढेको छ । संक्रमण दर बढेसँगै ‘रेड जोन’ पनि थपिँदै गएका छन् । हालसम्म ७७ जिल्लामध्ये १२ जिल्ला ‘रेड जोन’मा परेका छन् । प्रदेश १ को झापा पनि ‘रेड जोन’ मा परेको छ । सक्रिय संक्रमित पाँच सयभन्दा बढी भएका जिल्लालाई ‘रेड जोन’ का रुपमा वर्गीकरण गर्ने गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी र झापा ‘रेड जोन’मा छन् ।
झापामा मंगलबारसम्ममा ६ सय ४४ जनामा कोरोना पुष्टि भइसकेको छ भने मोरङमा एक हजार सात सय ७८ र सुनसरीमा एक हजार एक सय ८७ जना संक्रमित छन् । कोरोनाको संक्रमण दर बढ्दै गएपछि जिल्लामा स्वास्थ्य सुरक्षा अपनाउन जिल्ला प्रशासन कार्यालय झापाले अनुरोध गरेको छ । यसैबीच जिल्लास्तरीय कोभिड संक्रमण ब्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले कोरोनाको संक्रमण रोक्न भन्दै विभिन्न ११ वटा निर्णय गरेको छ ।
अत्यावश्यक काम बाहेक दैनिक उपभोग्य सामग्री किनमेल गर्नका लागि अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावतलाई नाकामा रहेका सुरक्षा निकायबाट रोक लगाउने निर्णय भएको छ । यो निर्णयसँगै पूर्वी तथा दक्षिणी नाकाहरुका कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कोरोना संक्रमण रोक्नका लागि गरिएका निर्णयहरुलाई सबैले पालना गर्नुपर्ने बताए । प्रजिअ रिजालले भने– सबै स्थानीय निकाय, सरकारी कार्यालयहरु,सुरक्षा निकाय, विभिन्न संघ–संस्था लगायत सबैमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिइसकेका छौं । कोरोनाको संक्रमण रोक्न सबै एक भएमा मात्रै सम्भव छ ।
दिनप्रतिदिन संक्रमण तीब्र रुपमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालयले खोप कार्यक्रमलाई तीब्र बनाउने निर्णय गरेको छ । साथै कोरोनाको हट स्पट बन्ने क्षेत्रमा परीक्षण दरलाई प्रभावकारी बनाउने योजनाका साथ काम भइरहेको प्रजिअ रिजालले बताए ।
डीसीएमसीको बैठकले स्वास्थ्य कार्यालयले कोभिड १९को संक्रमणको वर्तमान अवस्थाको विश्लेषण गरी जिल्लामा आवश्यक पर्ने औषधि, परीक्षण गर्ने किट, भीटीएम लगायतका अन्य सामग्रीहरुको मौज्दात व्यवस्थापन गर्ने, सम्पूर्ण राजनीतिक दलहरुले आ–आफ्नो तर्फबाट विज्ञप्ति जारी गर्ने, समुदायस्तरमा सचेतना जगाउने र स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्ने, गराउने लगायतका विभिन्न निर्णयहरु गरेको छ । बैठकले होटल तथा रेस्टुरेण्टहरु राति ९ बजेसम्ममात्र सञ्चालन गर्न दिने निर्णय गरेको प्रजिअ रिजालले जानकारी दिए ।
झापाको मेचीनगरमा निर्माणाधीन होल्डिङ सेन्टरको तीब्र रुपमा अघि बढेको भन्दै छिट्टै सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको प्रजिअ रिजालले बताए । उनले भने– भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । कार्यविधि बनाएर सञ्चालनमा ल्याउनका लागि पहल शुरु गरेको छु । ओमिक्रोनको भय बढेसँगै होल्डिङ सेन्टर निर्माणको कामलाई चासोका साथ लिइएको छ । मेचीनगर–१४ दुहागढीमा चार विगाह क्षेत्रफलमा होल्डिङ सेन्टर निर्माणको काम धमाधम भइरहेको बताइएको छ ।
घरसँगै एउटा शौचालय र १५ वटा भान्साघर गरी जम्मा ५९ वटा संरचना निर्माणको अन्तिम चरणमा पुगेको बताइएको छ । यसैबीच कोरोना संक्रमणदर दिनप्रतिदिन बढ्दा समेत नागरिकमा सचेतना अपनाउनतर्फ ध्यान दिएको पाइन्न् । सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेपनि शहरी क्षेत्रमा भीडभाड उस्तै रहेको छ । कतिपयले मास्कको पनि प्रयोग नगर्ने गरेको पाइएकाले प्रहरीले मास्क खै अभियान सञ्चालन गरेर मास्क वितरण गरेको जनाएको छ ।
कोरोनासंग बढ्दै गएपछि घर–घरमा ज्वरो, रुघा, खोकी लगायतका विरामी बढ्न थालेका छन् । कोरोना पोजेटिभ देखिएका अधिकांश विरामीहरु होम आइसोलेसनमा रहेका छन् ।