खगेन्द्र स्मृति दिवसमा सहायक सामग्री वितरण
भद्रपुर । नेपाल अपाङ्ग सङ्घका संस्थापक स्व। खगेन्द्रबहादुर बस्नेतको जन्म जयन्तीको अवसर पारेर नेपाल अपाङ्ग सङ्घ, खगेन्द्र नवजीवन केन्द्र झापाले अपाङ्गता भएकाहरूलाई सहायक सामग्री वितरण गरेको छ ।
भद्रपुर ४ स्थित सङ्घको कार्यालय परिसरमा बुधवार आयोजित कार्यक्रमका बिच सङ्घले अपाङ्गता भएका दुई जनालाई ह्विलचियर र श्रवण शक्ति नभएका एक जनालाई श्रवण यन्त्र वितरण गरेको हो ।
सङ्घका सभापति ऋषि चापागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले ती सामग्री हस्तान्तरण गरेका थिए । भद्रपुर ४ का रिता राई र बलबहादुर गुरुङलाई ह्विलचियर प्रदान गरिएको थियो भने भद्रपुर २ नौलक्षी राईलाई श्रवण यन्त्र वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन सङ्घका सचिव बालध्वज कार्कीले गरेका थिए ।
यसै अवसरमा सङ्घ परिसरमा सरसफाइ र स्व. बस्नेतको सम्झनामा दीप प्रज्वलन पनि गरिएको थियो । कार्यक्रममा सङ्घकी केन्द्रीय सदस्य शर्मिला अधिकारी, लता कार्कीसमेतको उपस्थिति थियो ।