२०८३ भाद्र १४ गते , आईतबार
सुनसरीको बर्जू महोत्सवमा आगजनी र तोडफोड
सुनसरी । सुनसरीको बर्जू गाउँपालिका–६ स्थित चिमडीमा जारी बर्जू महोत्सवमा स्थानीयले मङ्गलवार आगजनी र तोडफोड गरेका छन् ।
महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार खेसारीलाल यादवको पूर्वनिर्धारित साङ्गीतिक कार्यक्रम रद्द भएपछि आक्रोशित स्थानीयले कार्यक्रम स्थलमा आगजनी र तोडफोड गरेका हुन् । कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि ३०० र ५०० का दरले टिकट काटेर बसिरहेका थिए । तर, उनको कार्यक्रम रद्द गर्नु परेपछी स्थानीयले भारतीय नम्बर प्लेटका ४ वटा स्कोरपियो र मोटरसाइकलमा आगजनी गर्नुका साथै स्टेज र कुर्सीहरू समेत तोडफोड गरेका छन् । स्थानीयको तोडफोडबाट ठुलो जनधनको क्षति भएको बताइएको छ ।
यद्यपि, घटनाबारे यकिन विवरण भने हालसम्म प्राप्त भएको छैन । घटनास्थलमा हाल अवस्था नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी सुनसरीबाट ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । सुनसरीको बर्जू–६ स्थित बर्जुतालको खेलमैदानमा पुस २४ गतेदेखि महोत्सवको आयोजना गरिएको थियो । मङ्गलवार महोत्सवको अन्तिम दिन थियो । कोरोनाको संक्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले भौतिक जमघट हुने मेला र महोत्सव लगायतका कार्यक्रममा रोक लगाएको थियो । तर, आयोजकले प्रशासनको निर्देशन समेत अवहेलना गर्दै बर्जुमा उक्त महोत्सव जारी राखेकाले उक्त घटना भएको सुनसरी प्रहरीले जनाएको छ ।