झापामा मोटरसाइकल चोरीका घटना बढ्यो, हराएपछि भेट्नै मुस्किल

झापा । झापाका शहरी क्षेत्रमा किनमेलका लागि जाँदा सवारी साधन पार्किङ गरेको ठाउँबाट होस् अथवा घुम्न जाने क्रममा राखिएका मोटरसाइकल हराउने क्रम बढ्दो छ । कतिपय त घरबाटै मोटरसाइकल चोरी भएका उजुरी प्रहरीकोमा पर्ने गरेको छ ।विशेषगरी महँगा मोटरसाइकल धेरै हराएको उजुरी पर्ने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापामा मोटरसाइकल हराएको उजुरी परेको आधारमा भेटिएको मोटरसाइकलको सङ्ख्या ज्यादै न्यून छ । मोटरसाइकलको सुरक्षा संयन्त्र निकै कमजोर भएको हुँदा जो कोहीले पनि सजिलै चोर्न सक्ने प्रहरीको भनाइ छ ।
अनुसन्धानका क्रममा झापाबाट चोरी भएका मोटरसाइकलहरू पहाडी जिल्लामा विक्री भएको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले तीन वटा सम्भावित क्षेत्रको पहिचान गरेको बताए । चोरी गर्ने गिरोहले पहाडी जिल्लाका दुर्गम स्थानमा लगेर बेच्ने, खुल्ला सिमानाको फाइदा उठाएर भारत पु¥याएर बेच्ने तथा नेपालमै पार्टपुर्जा निकालेर बिक्री गर्ने गरेको पाइएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय झापाले हराएका मोटरसाइकल खोजीका लागि भनेर छुट्टै कुनै अभियान नचलाए पनि चोरी भएको उजुरी आए लगत्तै जिल्लाभर ट्राफिक प्रहरीसँगको समन्वयमा चेकजाँचलाई तीव्र बनाउने गरेको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।
आर्थिक वर्ष २०७७/०७८मा ७४ वटा मोटरसाइकल हराएकोमा ४७ वटा फेला परेको थियो । चोरीमा संलग्न ५० जनालाई पक्राउ गर्नुका साथै ३८ वटा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै चालू आर्थिक वर्ष २०७८-०७९को पाँच महिनाको अवधिमा २८ वटा मोटरसाइकल हराइसकेको छ भने ६ वटा मोटरसाइकल मात्र फेला परेको प्रहरीले जनाएको छ । चोरीमा संलग्न ६ जना पक्राउ परेका छन् भने चार वटा मुद्दा चलाइएको प्रहरी प्रवक्ता पाठकले जानकारी दिए ।
मोटरसाइकल चोरीका घटना बढे पनि भेटिने अनुपात साह्रै न्यून भएकाले प्रहरीले लामो समयसम्म मोटरसाइकल पार्किङ गरेर राख्नुपर्ने अवस्थामा चेन तथा अन्य तरिकाबाट लक गर्न सुझाव दिएको छ । चाबीको भरमा मोटरसाइकल छोडिँदा चोरीको दर बढ्ने प्रहरी नायव उपरीक्षक पाठकले बताए । नक्कली लाइसेन्स तथा ब्लु बुक समेत प्रयोग गरेर चलाउने गरेको कतिपयलाई पक्राउ गरेर प्रहरीले चेकजाँचमा कडाइ गरेको र शङ्कास्पद देखिएमा तुरुन्त नियन्त्रणमा लिएर अनुसन्धान गर्ने गरेको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।
मोटरसाइकल चोरी हुने प्रमुख कारण एकान्त स्थानमा पार्किङ रहेको प्रहरीको भनाइ छ । कतिपय अवस्थामा भने गिरोहको सक्रियताले भिडभाडबाटै मोटरसाइकल चोरी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । भिडभाडमा मोटरसाइकल पार्किङ गरेपछि मोटरसाइकल धनीको क्रियाकलापलाई ध्यान दिएर समेत मोटरसाइकल चोरी गर्ने गिरोह समेत सक्रिय रहेको प्रहरीको भनाइ छ । मोटरसाइकल चोरी गर्नेको गिरोह नै सक्रिय रहेको भन्दै प्रहरीले एउटाले पार्किङबाट नजिकको लोकेसनसम्म पु¥याइदिने र त्यहाँबाट गिरोहले पालैपालो नजिकको अर्को लोकेसनमा पु¥याइदिने हुँदा एउटा मोटरसाइकल चोरीमा धेरै व्यक्ति सहभागी हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।
ब्लु बुक तथा लाइसेन्स जाँच गर्ने संयन्त्र नहुँदा कतिपय अवस्थामा छुट्टाउन कठिन परेकाले समेत चोरीका मोटरसाइकल निर्बाध गुडिरहेको प्रहरीको भनाइ छ । नेपालमा चोरी गरी भारतमा र भारतमा चोरी गरी नेपालमा समेत बिक्री हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले कसैले शङ्कास्पद रुपमा सवारी सञ्चालन गरिरहेको थाह पाए खबर गर्न अनुरोध गर्नुका साथै कागजपत्र नभएका सवारी नकिन्न अनुरोध समेत गरेको छ । झापाको बिर्तामोड, काँकडभिट्टा, भद्रपुर तथा दमक क्षेत्रबाट धेरै सङ्ख्यामा मोटरसाइकल चोरीका घटनाहरू हुने गरेको प्रहरीले जनाएको छ