२०८३ बैशाख २३ गते , बुधबार

कोरोना सङ्क्रमित बढेपछि यस्तो छ नियन्त्रण र उपचारको तयारी

sajilo news
पार्थ मण्डल
२०७८ पौष २७ गते , मंगलबार
कोरोना सङ्क्रमित बढेपछि यस्तो छ नियन्त्रण र उपचारको तयारी

झापा । जिल्लामा कोभिड–१९ (कोरोना) भाइरसको सङ्क्रमण बढ्न थालेपछि नियन्त्रण र उपचारको तयारी थालिएको छ । प्रशासनले भेला, मेला, महोत्सव गर्न रोक लगाएको छ भने अस्पतालहरूले थप तयारी गरेका हुन् ।

प्रशासनले सोमबार २५ जनाभन्दा बढी भेला भएर हुने सबै प्रकारका कार्यक्रममा रोक लगाएको छ । सवारीसाधन, सार्वजनिकस्थलमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ । अस्पतालहरूले पनि सङ्क्रमित बढ्न सक्ने भन्दै थप तयारी गरेका छन् । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले कोरोना सङ्क्रमितको नियमित उपचार हुँदै आएको जानकारी दिँदै हाल २८ शय्या छुट्याइएको बताउनुभयो । तीमध्ये १० शय्या सघन उपचारकक्ष र १८ शय्या एचडीयू रहेका छन् ।  उनले आवश्यकतानुसार शय्या बढाउँदै लैजाने जानकारी दिए  ।

अस्पतालमा अक्सिजन प्लान्ट र तरल अक्सिजन ट्याङ्कसमेत जडान गरिएकाले विगतको जस्तो अक्सिजनको अभाव नहुने  उनले विश्वास दिलाए । । भरतपुर अस्पतालले दुई दिनअघि कोभिड प्राविधिक समिति नै बनाएर कोभिड सङ्क्रमितको उपचारको थप तयारीमा लागेको उनको भनाइ छ । 

चितवन मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रताप देवकोटाले सङ्क्रमण बढ्न थालेपछि थप तयारी गरिएको बताए । उनले पछिल्ला दिनमा सङ्क्रमित आउने क्रम बढेको बताउँदै हाल २५ शय्या कोभिडका लागि छुट्याइएको जानकारी दिए । देवकोटाले भने, “हामीले आवश्यकतानुसार शय्याको सङ्ख्या बढाउँदै लैजान्छौँ ।”

कोभिडको दोस्रो लहरसँगै सघन उपचारकक्ष र एचडीयूको सङ्ख्या बढाइएको जानकारी दिँदै देवकोटाले सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजन, सघन उपचारकक्ष, एचडीयू र बच्चाका लागि बाल सघन उपचारकक्षसमेत पर्याप्त रहेको जानकारी दिए । उनले पिसीआर परीक्षण गर्ने आफ्नै प्रयोगशाला रहेको समेत जानकारी दिए ।

 कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल पुरानो मेडिकल कलेज०का आवासीय निर्देशक डा मनोहर प्रधानले अस्पतालमा विगतदेखि नै कोभिडका लागि छुट्याइएको १२० शय्या अहिले पनि तयारी अवस्थामा राखिएको बताए । उनले भने, “हामीले कोभिड उपचार वार्डमा अरु बिरामी राखेका छैनौँ, ती शय्या अहिले पनि अलग्गै राखिएको छ ।” आवश्यकतानुसार शय्या बढाउन सकिने प्रधानको भनाइ छ ।

अस्पतालको आफ्नै अक्सिजन प्लान्ट रहेकाले अभाव नहुने उनले बताए । अस्पतालले पछिल्लो समय पिसीआर मेसिन पनि सञ्चालनमा ल्याएको छ । विगत दुई महिनादेखि पिसीआर मेसिन सञ्चालनमा आएको प्रधानले जानकारी दिए । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले सङ्क्रमणलाई मध्यनजर गर्दै खोप अभियानलाई प्रभावकारीरूपमा अघि बढाइएको बताए । सङ्क्रमण फैलन नदिन आवश्यक जनचेतना जगाउने काम कार्यालयले गरिरहेको छ । हाल चितवनका अस्पतालमा १३ सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये तीन जना सघन उपचारकक्षमा उपचाररत् छन् । रासस

सम्बन्धित समाचार