२०७८ माघ ५ गते , बुधवार

प्रथम बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

प्रथम बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न :: Times of Pradesh
झापा । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको प्रथम बहुउद्देश्यीय सहकारी संस्थाले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नो नवौँ वार्षिक साधारणसभा झापाको पर्यटकीय स्थल धनुषकोटीमा शनिवार सम्पन्न गरेको छ ।
‘सहकारी : गरिबी निवारणको प्रमुख आधार, प्रथमसँगै समृद्धि’ भन्ने नाराका साथ वनभोजसहित आयोजना गरिएको साधारण सभाको उद्घाटन झापा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य लालप्रसाद साँवाले गरेका थिए ।
संस्थाको शिक्षा उपसमितिका संयोजक फणीन्द्र दाहालले सञ्चालन र उपाध्यक्ष चेतनाथ उप्रेतीले स्वागत गरेको उद्घाटन समारोहमा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष टिकाराम पाण्डेले विश्वव्यापी महामारी कोभिड–१९ को सङ्कटका बाबजुद आर्थिक वर्ष २०७७/०७८ मा संस्थाले ३६ लाख ८६ हजार रुपैयाँ मुनाफा गरेको जानकारी दिए ।
प्रतिवेदन अनुसार आ. व. ०७७/०७८ को असार मसान्तसम्म संस्थामा ११७९८ जना शेयर सदस्य पुगेका छन् भने शेयर पुँजी ३ करोड सात लाख ११ हजार आठ सय पुगेको छ । संस्थाको निक्षेप सङ्कलन ३२ करोड ३३ लाख १३ हजार ५८ रुपैयाँ र ऋण लगानी २९ करोड पाँच लाख ८६ हजार रुपैयाँ रहेको र संस्थाका विभिन्न कोषमा एक करोड १० लाख ६५ हजार चार सय एक रुपैयाँ रहेको अध्यक्ष पाण्डेले बताए ।
जिल्लाभरि सात वटा सेवा केन्द्र रहेको संस्थाले झापाको  सुदूर दक्षिणी कचनकवलमा प्रथम पाठशाला नामक सहकारी विद्यालय सञ्चालन गरिरहेको छ भने प्रथम पाठशालालाई झापाभरि विस्तार गर्ने योजना रहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी, बिर्तामोड, बनियानी, घैलाडुब्बा र शिगञ्जमा इलेकट्रोनिक्स सामग्रीको पसल सञ्चालन भइरहेको अध्यक्ष पाण्डेले बताए ।
समारोहमा प्रमुख अतिथि साावाले शुभकामना मन्तव्य राख्दै सहकारी समृद्धका संवाहक भएकोले उत्पादनसँग जोडिनुपर्ने बताए । कृषि, उद्योग–व्यवसाय क्षेत्रमा सहकारीहरूले लगानी बढाउनुपर्नेमा सांसद साँवाको जोड थियो । 
यसैगरी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले प्रथम साकोस बहुउद्देश्य अनुरूप सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै विपन्न परिवारको उत्थानमा सहकारी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताए । 
बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले महामारीका बिच पनि संस्थाले उल्लेख्य नाफा गर्नु महत्त्वपूर्ण सफलता भएको भन्दै कारोबारको दृष्टिकोणले प्रथम बहुउद्देश्यीय सहकारी अब्बल सहकारीका रुपमा रूपान्तरित हुँदै गएको बताए ।
भद्रपुर नगर बाल सञ्जालकी अध्यक्ष भावना पोखरेल र कचनकवल गाउँ बाल सञ्जालका अध्यक्ष मनिष बरालसमेतले शुभकामना मन्तव्य राखेको सो समारोहमा उत्कृष्ट सदस्य तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरूमा उत्कृष्ट सदस्यतर्फ बनियानीबाट जयप्रसाद राजवंशी, राजगढबाट पन्नादेवी हलुवाई, शिवगञ्जबाट राधा राजवंशी, शरणामतीबाट रमेश विश्वकर्मा, बिर्तामोडबाट नरेन्द्रकुमार वास, पृथ्वीनगरबाट उषा गिरी र घैलाडुब्बाबाट जुरुन् राजवंशी, खुत्रुके बचततर्फ बनियानीबाट सुमिरन खतिवडा, राजगढबाट आदित्य गौतम, शिवगञ्जबाट कौशल राजवंशी, शरणामतीबाट बिकिन लुहागुन, बिर्तामोडबाट सरिता राई, पृथ्वीनगरबाट सम्राट् खपांगी मगर र घैलाडुब्बाबाट आदित्य राजवंशी, उत्कृष्ट नारी बचततर्फ बनियानीबाट समीक्षा भट्टराई वाँस्कोटा, राजगढबाट देन्तीकुमारी राजवंशी, शिवगञ्जबाट बेलवती राजवंशी, शरणामतीबाट नाजेमा खातुन, बिर्तामोडबाट सपना अधिकारी खनाल, पृथ्वीनगरबाट हरिमाया भट्टराई र घैलाडुब्बाबाट टिकादेवी कँडरिया एवम् उत्कृष्ट नियमित बचततर्फ बनियानीबाट सन्ध्या भट्टराई, राजगढबाट सरोज राजवंशी, शिवगञ्जबाट मनोज राजवंशी, शरणामतीबाट फूलमाया विश्वकर्मा, बिर्तामोडबाट सविता अधिकारी, पृथ्वीनगरबाट टङ्कनाथ सुवेदी र घैलाडुब्बाबाट हिकिम हेमरम रहेका छन् । कर्मचारीतर्फ शरणामती सेवा केन्द्रकी कार्यालय प्रमुख गीता प्रसाईँलाई सम्मान गरिएको थियो ।    


टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment