२०७८ माघ ५ गते , बुधवार

भद्रपुरमा मिनी म्याराथन, कबड्डी र भलिबल प्रतियोगिताको तयारी पूरा

भद्रपुरमा मिनी म्याराथन, कबड्डी र भलिबल प्रतियोगिताको तयारी पूरा :: Times of Pradesh
भद्रपुर । भद्रपुरमा अन्तर वडा स्तरीय दोस्रो मेयर कप प्रतियोगिताको तयारी पूरा भएको छ । पुस २५ गतेदेखि सुरु हुने मिनी म्याराथन (सडक दौड), कबड्डी र भलिबल प्रतियोगिताको तयारी पूरा भएको नगर खेलकुद विकास समितिले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगिता पुस २७ गतेसम्म सञ्चालन हुन लागेको छ । भलिबल खेलका लागि नगरपालिकाले १ लाख ४२ हजार बजेट विनियोजन गरेकोमा प्रतियोगितामा विजेता टिमलाई नगद २५ हजार र उपविजेतालाई १५ हजारसहित शिल्ड प्रदान गरिने भलिबल खेल संयोजक बुद्धिमान श्रेष्ठले जानकारी दिए । मेयर कप कबड्डी प्रतियोगिता महिला र पुरुष दुवै तर्फ पुस ३० गतेसम्म सञ्चालन हुनेछ ।
कबड्डी खेलका लागि नगरपालिकाले २ लाख ६० हजार बजेट विनियोजन गरेकोमा प्रतियोगितामा महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः नगद २० हजार, १० हजार र ५ हजारसहित शिल्ड प्रदान गरिने कबड्डीका खेल संयोजक रतिया राजवंशीले जानकारी दिए । त्यस्तै पुस २५ गते हुने मिनी म्याराथन (सडक दौड) पुरुषतर्फ १० किलोमिटर (हिमाली चोकदेखि भद्रपुर नगरपालिकाको नयाँ भवन) र महिलातर्फ ५ किलोमिटर (देउनियाँ पुलदेखि भद्रपुर नगरपालिकाको नयाँ भवन) सम्म हुनेछ ।
म्याराथनका लागि नगरपालिकाले १ लाख ५० हजार बजेट विनियोजन गरेकोमा महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय, तृतीयदेखि दसौँ स्थानसम्म क्रमशः १० हजार, ७ हजार, ५ हजार, ३ हजार २ हजार र एक हजारसहित पुरस्कार प्रदान गरिने खेल संयोजक खोमाकुमारी दाहालले बताइन् । तीन वटै प्रतियोगताका वडा स्तरबाट खेलाडी छनौट भई सहभागी हुने बताइएको छ । यता म्याराथनमा सहभागी खेलाडीका लागि सिटिजन लाइफ इन्स्योरेन्सले नगरपालिकालाई जर्सी हस्तान्तरण गरेको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष श्यामकुमार राउतको अध्यक्षता तथा नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपमेयर चन्द्रमाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रेम भुजेलले गरेका थिए । यस प्रतियोगिता सकिए लगतै वडा स्तरीय फुटबल र क्रिकेट प्रतियोगिता 

हुने जनाइएको छ ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment