२०८१ मंसीर २० गते , विहीबार
जापानले बनायो स्क्रिनमा चाटेर खानाको स्वाद लिन मिल्ने टेलिभिजन
एजेन्सी । टेलिभिजन युगको सुरुवातमा श्यामस्वेत अर्थात् ब्लाक एन्ड ह्वाइट टेलिभिजन थिए । त्यसपछि रङ्गिन टेलिभिजनको जमाना आयो । टेलिभिजन प्रविधिमा निरन्तर परिवर्तन भइरहँदा थ्री डी, एचडी तथा स्मार्ट टेलिभिजनको जमाना चलिरहेको छ । यसै क्रममा एक नितान्त फरक टेलिभिजन जापानले तयार पारेको छ ।
जापानी वैज्ञानिकले चाट्ने टिभी बनाएका छन् । अर्थात् यस्तो टेलिभिजन जसको स्क्रिनमा चाट्न सकिन्छ । रोयटर्सका अनुसार जापानका एक प्राध्यापकले एउटा यस्तो लिकेबल (चाट्न सकिने) टिभी स्क्रिन बनाएका छन्, जसबाट खानाको स्वादको अनुभव लिन सकिन्छ । उक्त टिभीलाई टेस्ट द टिभी भनिन्छ । यसमा दश वटा क्यानिस्टर लगाइएको छ जसले एक शुद्ध पत्रमा फ्लेभर अर्थात् स्वाद स्प्रे गर्दछ । उक्त पत्र त्यसपछि टेलिभिजनको स्क्रिनमा रोल हुन्छ जसलाई दर्शकले चाट्न सक्दछन् ।
जापानको मेइजी विश्वविद्यालयका प्राध्यापक होमोइ मियाशिताले यस्तो चाट्ने टिभी बनाएका हुन् । मियाशिताका अनुसार यो टेलिभिजनका माध्यमबाट शेफ तथा खानेकुराको कारोबारमा संलग्न मानिसहरूलाई टाढै रहेर पनि तालीम दिन सकिन्छ । उनका अनुसार यो टेलिभिजनको व्यावसायिक उत्पादनपछि यसको मूल्य ८७५ डलरसम्म पर्न सक्दछ । उनी भन्छन्( मानिसहरू आफ्नो घरमै बसेर संसारका कुनै पनि ठाउँका रेस्टुरेन्टमा पस्किने खानाको पनि स्वाद उठाउन सक्नू भन्ने यसको लक्ष्य हो ।
प्राध्यापक मियाशिताले अन्य उत्पादकहरूसँग पनि छलफल गरिरहेका छन् जस अन्तरगत यो प्रविधिबाट टोस्टमा विभिन्न फ्लेभर कसरी हाल्न सकिन्छ भन्ने लगायतका अन्य प्रयोगका विषयमा पनि विमर्श भइरहेको छ । उनका अनुसार भविष्यमा कुनै दिन स्वादहरूको यस्तो सङ्ग्रह वा सूची तयार हुनेछ जसमा फरक(फरक स्वादलाई डाउनलोड गर्न सकिनेछ ।
कोरोना जस्तो महामारीको समयमा विश्वका मानिसहरू घरभित्रै थुनिन बाध्य भएको बेला यस्तो प्रविधिले मानिसहरूलाई बाहिरी संसारसँग सम्पर्क कायम गर्न सहयोग गर्नेछ । तर सोसल मिडियामा भने यो टेलिभिजन कोरोना महामारीको यस्तो बिगबिगीको समयमा लन्च गरिनु के उपयुक्त हो रु भनेर प्रश्न गरिरहेका छन् ।
जापानी प्राध्यापक मियाशिताले यसअघि पनि आफ्ना विद्यार्थीहरूसँग मिलेर विभिन्न खालका उपकरण बनाउने गरेका थिए । एक पटक उनले यस्तो फोर्क अर्थात् चम्चा काँटा बनाएका थिए जसबाट खानेकुरा खानाले उक्त खाना मुखमा गइसकेपछि झनै स्वादिष्ट हुन्थ्यो ।
प्राध्यापक मियाशिताले आफ्नो स्वादिलो टिभीको एक झलक पत्रकारहरूलाई देखाएका थिए । त्यसमा एक जना छात्राले मेसिनसँग भन्छिन् – मलाई चकलेट चाहियो । केही प्रयासपश्चात् उनको अर्डर स्क्रिनमा स्प्रे भयो र त्यसपछि उनले टिभी स्क्रिन चाटेर स्वाद लिइन् । र भनिन्, हँ यसको स्वाद मिल्क चकलेट जस्तै लाग्दछ ।