२०७८ माघ ५ गते , बुधवार

तमु ल्होसार महिला गोल्डकपः पथरी शनिश्चरे अन्तिम चारमा

तमु ल्होसार महिला गोल्डकपः पथरी शनिश्चरे अन्तिम चारमा :: Times of Pradesh
बिर्तामोड  । उत्कृष्ट खेल पस्किँदै मोरङको पथरी शनिश्चरे महिला एफसी तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मोरङले विदेशी टोली भारत कालिम्पोङको श्री फुटबल क्लबलाई २–० को गोल अन्तरले पराजित गर्दै विजयी भएको हो
खेलको २६ औँ मिनेटमा मोरङकी मुना मगरले गरेको सुन्दर गोल नै जीतका लागि पर्याप्त भयो । मनीषा विष्टको क्रसलाई मगरले गोल पोस्टको दिशा दिएकी थिइन् । त्यस्तै, खेलको ५१ औँ मिनेटमा मोरङकी केरेन लिम्बूले गोल गर्दै अग्रता दोब्बर बनाइन् ।
खेल अवधिभर कालिम्पोङमाथि मोरङ हाबी देखिएको थियो । दोस्रो हाफमा कालिम्पोङ खेलमा फर्किन खोजे पनि गोल गर्न भने सकेन ।   खेलको प्लेयर अफ द म्याच मोरङकी मुना मगर भइन् । उनलाई आयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङले नगद प्रदान गरे ।
दोस्रो संस्करणको प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । गुरुङ समुदायको महान् चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।


टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment