ओमिक्रोनको त्रास : सिक्किममा विदेशी पर्यटक प्रवेशमा रोक
झापा । विदेशी पर्यटकहरूलाई सिक्किम प्रवेशमा रोक लगाइएको छ। कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम विचार गरेर सिक्किम सरकारले आज .(बुधबार) बिहान ६ बजेदेखि लागू हुनेगरी विदेशी पर्यटक प्रवेशमा प्रतिबन्ध लगाएको हो। साथै सिक्किम सरकारले ओमिक्रोनको संक्रमण राज्यमा छिर्न नदिन सतर्कता अपनाउन सुरु गरेको छ।
राज्यको गृह विभागले मंगलबार जारी गरेको आदेशअनुसार अब अर्को सूचना नहुँदासम्म सिक्किम भ्रमणमा आउने विदेशी पर्यटकलाई इनर लाइन पर्मिट, रेस्टिक्डेट एरिया पर्मिट र प्रोटेक्टेड एरिया पर्मिट जारी गरिने छैन। राज्यको गृह विभागले पर्यटन विभागलाई पत्राचार गरी विदेशी पर्यटकका उल्लिखित तीनमध्ये कुनै पनि पर्मिट जारी नगर्न आदेश दिएको छ। सिक्किम सरकारले राज्यमा प्रवेशका लागि राखिएका अन्य नियम यथावत् छन्। उल्लेखनीय छ, कोरोना संक्रमण कम भएपछि हाल सिक्किम घुम्न आउने देशी–विदेशी पर्यटकको घुइँचो लागेको छ।
सिक्किममा सोमबार परीक्षण गरिएका ३२२ जनामध्ये ९ जना कोभिड संक्रमित देखा परेको छ । सात जना पूर्व जिल्ला र दुई पश्चिम जिल्लाबाट रहेका छन् । राज्यको कोभिड सकारात्मकता दर २.८ प्रतिशत रहेको स्वास्थ्य विभागले जनाएको छ ,। सिक्किममा अब १२४ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये १४ कोभिड बिरामी अस्पतालमा भर्ना छन् ।