२०७८ माघ ५ गते , बुधवार

भारतको मणिपुरमा विद्रोहीले थापेको धरापमा परी कर्नेलसहित ७ जनाको मृत्यु

भारतको मणिपुरमा विद्रोहीले थापेको धरापमा परी कर्नेलसहित ७ जनाको मृत्यु :: Times of Pradesh

झापा । भारतको मणिपुरमा विद्रोहीले थापेको धरापमा परी उच्च सैनिक अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । म्यानमारसँग सीमा जोडिएको मणिपुरको चुराचन्दपुर जिल्लामा थापिएको धरापमा परी सेनाका कर्नेल, उनकी श्रीमती, छोरा र अन्य ४ सैनिक जवान गरी ७ जनाको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् । शनिबार बिहान विद्रोहीले थापेको धरापमा सुरक्षाकर्मी चढेको गाडी परेको स्रोतलाई उदृत गर्दै समाचारमा लेखिएको छ ।

धरापमा परी ४६ आसाम राइफल्सका कमान्डिङ अफिसर कर्नेल विप्लब त्रिपाठीसहित ७ जना मारिएका हुन् । फरवार्ड क्याम्प गएर फर्किने क्रममा त्रिपाठी चढेको गाडी शनिबार बिहान १० बजेतिर चुराचन्दपुरको एक दुर्गम गाउँमा धरापमा परेको हो । हालसम्म उक्त घटनाको कुनै समूहले जिम्मा लिएका छैनन् । तर मणिपुरमा सक्रिय जनमुक्ति सेनाले धराप थापेको हुन सक्ने समाचारमा उल्लेख गरिएको छ । यसैबीच, भारतीय रक्षामन्त्री राजनाथ सिंहले घटनाको निन्दा गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । हमलाकारीलाई चाँडै नै खोजेर सजाय दिइने सिंहको भनाइ छ । त्यस्तै, मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले जवाफी कारबाही सुरु गरेर हमलाकारीलाई खोज्ने काम भइरहेको जानकारी गराएका छन् ।

मणिपुरसहित भारतका उत्तर-पूर्वी राज्यमा थप स्वायत्तता वा छुट्टै राज्य माग्दै आएका विभिन्न सशस्त्र समूह सक्रिय छन् । यसअघि सन् २०१५ मा सेनामाथि मणिपुरका विद्रोहीले हमला गर्दा २० सैनिकको मृत्यु भएको थियो ।

भारत सरकारले चीन, म्यानमार,  बंगलादेश र भुटानसँगको सीमा क्षेत्रमा दशकौंदेखि सेना परिचालन गर्दै आएको छ । अर्धसैन्य बलको रुपमा रहेको आसाम राइफल्सलाई समेत उत्तर(पूर्वी राज्यमा सेनाको कमाण्डअन्तर्गत परिचालन गरिँदै आएको छ । अनलाइखबरबाट



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment