२०८१ बैशाख ३ गते , सोमबार

मोरङ कारागारमा कैदीको शंकास्पद मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २५ गते , विहीबार
मोरङ कारागारमा कैदीको शंकास्पद मृत्यु

विराटनगर ।  विराटनगरको हाटखोलास्थित मोरङ कारागारमा एक जना कैदीको शंकास्पद मृत्यु भएको छ ।  जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गर्दै आएका मोरङ सुनवर्षी नगरपालिका इटहरा घर भएका ४३ वर्षीय नारायण थापा बिहीबार बिहान राती १ बजे शंकास्पद मृत्यु भएको हो । 

जबरजस्ति करणी मुद्दामा १० वर्ष कैद सजाय अदालतले तोकेपछि उनी २०७२ भदौ १ गतेदेखि मोरङ कारागारमा छन् । राती एक्कासि पेट दुखेर श्वासप्रश्वासमा समस्या भएको जानकारी आएपछि तत्काल उपचारको लागि कोशी अस्पताल लैजाने क्रममा कैदीको बाटोमा मृत्यु भएको निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए  । ‘कैदीको पेट र सास फेर्न समस्या भएको जानकारी पाए लगतै हामीले उपचारको लागि अस्पताल लैजाँदै गरेका थियौ । तर, उनको बाटामै मृत्यु भयो,’ उनले भने, ‘अहिले हामीले परिवारलाई जानकारी गराएका छौँ ।’ मृतक शव अहिले कोशी अस्पतालमा राखिएको छ । 

मोरङ कारागारमा केही दिनयतादेखि चौकीदार प्रकरणले अशान्त बन्दै जाँदा थापालाई रातभर कुटेर मारिएको आफन्तले गुनासो गरेका छन् । मृत्यु भएका भनिएका थापा तत्कालीन चौकीदार नविन राई समूहका थिए । सरकार फेरिएसँगै विराटनगर कारागारमा सरुवा गरिएका अभिषेक गिरी विरुद्ध आन्दोलनमा उत्रिएका राईलाई सरुवा गरिएको थियो । त्यसपछि किरण गुरुङलाई निमित्त चौकीदार बनाइएको थियो ।

गुरुङलाई चौकीदारको जिम्मेवारी दिएपछि पुनः गिरीलाई ल्याउने कसरत गरिएको थियो । तर, गुरुङ समूहले पनि गिरीलाई ल्याउने विरुद्ध आन्दोलन गरेपछि उनको समूह विरुद्ध कार्तिक कामतको समूहले विद्रोह गरेको थियो ।

दुई दिन अगाडी कारागार भित्र भएको झडपमा चौकीदार गुरुङसहित ६ जना घाइते भएका थिए । त्यस क्रममा गुरुङ समूहका १४ जनालाई सरुवा गरिएको थियो । प्रशासनले त्यसपछि गुरुङसहित १४ जनालाई सरुवा गरेर कामतलाई निमित्त चौकीदारको जिम्मेवारी दुई दिन अगाडी मात्रै दिएको थियो । कामत अगाडीका दुई जना चौकीदारको समूहमा रहेकाहरूलाई अहिले कारागार भित्रै यातना दिन थालिएको छ ।

कामत गिरी समर्थित रहेको दाबी गरिन्छ । गिरीलाई तिहार अगाडी विराटनगर कारागार ल्याइएपछि त्यहाँ विरोध भएको थियो । विरोधपछि तत्कालै सप्तरी पठाइएको थियो । गिरीले अहिले सप्तरी कारागारमा बसेर उनीसँग निकट रहेका व्यक्तिहरूलाई कारागार भित्र हुलदंघा मच्चाउन उक्साउने गरेको आशंका गरिन्छ ।  मोरङ कारागारमा बुधबार रातीसम्म पुरुष तर्फ ८ सय ९७ र महिला तर्फ ७२ जना कैदीबन्दी रहेका छन् । ब्लाष्टखबरबाट

सम्बन्धित समाचार