सामाजिक सञ्जालबाट ५ लाख बढी ठगी गर्ने चर्चका पादरी काँकडभिट्टामा पक्राउ
झापा । झापा प्रहरीले सामाजिक सञ्जालमा लोभ देखाएर ठगी गरेको आरोपमा एक जना चर्चका पादरीलाई पक्राउ गरि कारवाहीका लागि काठमाडौं पठाएको छ । पक्राउ पर्नेमा भारत सिलिगुडीका ३३ वर्षीय सन्दीप क्षेत्री रहेका छन् । क्षेत्री पाँच लाख १० हजार ठगी गरेको आरोपमा काँकडभिट्टाबाट पक्राउ परेका हुन् ।
यो घटनाले सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट् एप, इमोलगायतबाट लोभ देखाएर ठगी गर्ने क्रम अझै नरोकिएको पाइएको छ । त्यस्ता गिरोहले पार्सल पठाइदिन्छु भन्दै लाखौँ नगद ठगी गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ । उनले फेसबुकमा आफूलाई यूके नागरिक हुँ भन्दै न्यान्सी माइकलको नामबाट महिलालाई लोभ देखाएर विभिन्न प्रकारका उपहार पठाएको जानकारी गराउँदै कागजातसहित पार्सल ट्रयाकिङ गर्ने नम्बरसमेत दिएर ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
अनुसन्धानको क्रममा उनी सिलगुढीस्थित चर्चका पादरी रहेको खुल्न आएको छ । उनले क्रिस्चियन धर्मसँग सम्बन्धित विभिन्न संघसंस्था तथा व्यक्तिबाट सहयोग आएको भनी चर्चमा आएका महिलालाई खाता खोल्न लगाई त्यस खातामा पैसा पठाउन लगाउने गरेका थिए ।
उनले महिलाको खातामा नगद जम्मा गरी महिलामार्फत भुक्तानी लिने गरेको खुल्न आएको छ । उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ । महाशाखाले झापा प्रहरीको समन्वयमा पक्राउ गर्न सफल भएको जनाएको छ ।