एउटै हात्तीको आक्रमणबाट २३ जनाको ज्यान गयो
सुनसरी । जंगली हात्ती मकुना (भाले हात्ती) ले मध्यवर्ती क्षेत्रका बस्तीमा छिरेर चार वर्षयता २१ जनाको ज्यान लिइसकेको छ ।कोसी टप्पु वन्यजन्तु आरक्षमा चरिचरण गर्दै आएको मुकनाले गत सोमबार दिउँसोमात्र बराहक्षेत्र मधुवन ११ खत्वेटोल बस्ने ६५ वर्षीया वृद्धा मगनी खत्वेको ज्यान लिएपछि फेरि यसको चर्चा हुन थालेको छ ।
पुसदेखि हालसम्ममा मकुनाले भारदह, कुशाहा, श्रीलंका टप्पु र मधुवनमा गरी ६ जनाको ज्यान लिइसकेको छ । यसअघि भारतमा ८ जना गरी २३ जनाको ज्यान लिने ‘हिंस्रक हात्ती’को उपमा पाइसकेको मकुनालाई कसरी व्यवस्थापन गरेर मानवीय क्षति कम गराउने भन्ने विषय पेचिलो बन्न थालेको छ ।गत वर्ष मकुनालाई मार्नुपर्ने बहस चलेको बेला पशुअधिकारकर्मीहरूले प्रतिवाद गरेका थिए ।
आरक्षबाट निस्केर मध्यवर्ती क्षेत्रका बस्तीमा छिरेर मकुनाले फेरि एकपछि अर्को गर्दै मानवीय क्षति पुर्याउन थालेपछि पीडित र त्रसित सर्वसाधारणले तत्काल विकल्प दिन माग गरेका छन् ।यतिबेला मकुनाको पछि दुइटा गाडी, एउटा ट्र्याक्टर र सैनिकहरू २४ सै घण्टा तैनाथ छन् । आरक्षबाट निस्कनासाथ मकुनाको पछि लाग्छन् गाडीसहित सैनिकहरू । कडा निगरानी गर्दागर्दै पनि खेतमा घाँस काट्न निस्केकी मधुवनकी वृद्धाको ज्यान लियो मकुनाले ।
यतिबेला आरक्षबाट मकुना निस्कियो भन्ने हल्ला चल्नासाथ स्थानीय बासिन्दाहरू रातभर त्रसित हुँदै जाग्राम बस्न बाध्य भएका छन् । उनीहरूका त्रसित मनमा यतिबेला फेरि उठेको छ, ‘मकुना आतंक कहिलेसम्म सही बस्ने रु’यसले सबैभन्दा बढी क्षति कोसी गाउँपालिकामा पुर्याएको छ । ‘मकुनाले सबैभन्दा बढी मानवीय क्षति कोसी गाउँपालिकामा गरेको छ ।
हालसम्ममा ११ जनाको त ज्यानै लिइसकेको छ । अरू धनमाल, अन्न बालीको क्षति त कति गरेको छ कति,’ कोसी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले भने, ‘स्थानीय बासिन्दाहरू आरक्षबाट कुन बेला कहाँबाट मकुना निस्केर ज्यान लेला भनेर आजित, त्रसित र मानसिक रूपमै पीडित भएकाले पटकपटक जंगली हात्तीको व्यवस्थापन गर्न माग गर्दै आएका छौं । तर अहिलेसम्म सुनुवाइ हुन सकेको छैन ।’ यो समाचार कान्पिुर दैनिकमा छ ।