२०७८ कार्तीक ८ गते , सोमवार

बालमैत्री भद्रपुर नगर : बालिकालाई खम्बामा बाँधेर निल डाम हुने गरी निर्घात कुटपिट गर्ने युवक छाडिए

बालमैत्री भद्रपुर नगर : बालिकालाई खम्बामा बाँधेर निल डाम हुने गरी निर्घात कुटपिट गर्ने युवक छाडिए :: Times of Pradesh

झापा । बालमैत्री नगर घोषणा भएको भद्रपुर नगरपालिकामा बालबालिकामाथि हिंसा, दुर्व्यवहार, कुटपिट र अत्याचारका घटना अझै रोकिएको छैन । 

भद्रपुर नगरपालिका–५ निवासी १२ वर्षीया राजवंशी थरकी एउटी बालिकामाथि बालमैत्री नगरभित्रै हिंसात्मक घटना घटेको छ । राष्ट्रिय बाल दिवस मनाइएको एक साताभित्रै ती बालिकालाई सुनसरी जिल्ला इनरुवा नगरपालिका–६ घर भएका अन्दाजी ३० वर्षीय अनिल पौडेलले हात खम्बामा बाँधेर अनुहार र शरीरभरि निल डाम हुने गरी निर्घात कुटपिट गरेका थिए । घटना असोज ४ गते सोमबार दिउँसो साढे १२ बजेको हो ।  

बालिकामाथि कुटपिट गरेको दृश्य स्थानीयवासीले प्रत्यक्ष रुपमा देखेका थिए । पौडेल भद्रपुर–५ स्थित नयाँ बजारमा रहेको मेची बहुउद्देश्यीय कृषि फर्ममा रेखदेखका लागि काम गर्दै आइरहेका छन् । फर्ममा बाख्रा छिरेको निहुँमा पौडेलले ती बालिकामाथि निर्घात कुटपिट गरेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।   

घटना भए लगतै परिवारका सदस्य वडा प्रहरी कार्यालय भद्रपुरमा निवेदन दिएका थिए । प्रहरीले घटनाको विषयमा जानकारी पाउन साथ पौडेललाई घटनास्थलबाट पक्राउ गरी ल्याएका थिए । बालिकालाई उद्धार गरी मेची अस्पताल भद्रपुरमा उपचारका लागि भर्ना गरिएको थियो । 

वडामा मुद्दा नचल्ने भएपछि परिवारका सदस्यलाई प्रहरी कार्यालय झापामा जाहेरी दिन प्रहरीले आग्रह गरे । पीडित बालिकाका परिवारले प्रहरी कार्यालय झापामा जाहेरी दिन गएनन् । जाहेरी नपरेपछि कानुनी नियम अनुसार २४ घण्टाभित्र नियन्त्रणमा लिएका व्यक्तिलाई छाड्नु पर्ने हुन्छ । सोही नियम अनुसार वडा प्रहरी कार्यालयले पौडेललाई छाडन बाध्य भएको प्रहरी निरीक्षक राईले बताए । 

पीडित बालिकाका परिवारलाई प्रहरी कार्यालयमा गएर जाहेरी दिन पटक पटक आग्रह गरेको बताउँदै प्रहरी निरीक्षक राईले भने, ‘परिवारजनले नमानेपछि हामीले नियन्त्रणमा लिएका व्यक्तिलाई बाध्य भएर छाड्नु प¥यो ।’  यता पिडकका परिवारजनले पीडित बालिकाका परिवारलाई आर्थिक प्रलोभन देखाएर घटना मिलाएको स्थानीय स्रोतको दाबी छ । त्यस्तै मात्र नभएर पीडित बालिकाको औषधी उपचार गरिदिने र पठनपाठनमा सहयोग पुर्याउने मौखिक सहमति गरी घटना नै ढाकछोप गरी मिलाइएको छ । बालिकामाथि हिंसात्मक घटना भए पनि बाल मैत्री नगर समितिका पदाधिकारीले सुइँको समेत पाएन ।




टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment