२०८३ बैशाख २३ गते , बुधबार

झापामा खोप लगाउनेको सङ्ख्या बढ्दा, कोरोना संक्रमणदर घट्यो

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन ५ गते , मंगलबार
झापामा खोप लगाउनेको सङ्ख्या बढ्दा, कोरोना संक्रमणदर घट्यो
झापा । कोभिड– १९ को सङ्क्रमण दर जिल्लामा घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या बढेको कारण सङ्क्रमण घट्दै गएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताए । उनका अनुसार कोभिडका बिरामी अस्पतालमा समेत घटेका छन् ।

दुई महिना अघिसम्म दैनिक जसो कोभिड–१९ को कारण चारदेखि पाँच जनासम्मको मृत्यु हुने गरे तापनि हाल आएर एक वा दुईको मात्र मृत्यु भइरहेको उनले बताए । झापामा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९८ जना पुगेको छ । दैनिक जसो जिल्लाका विभिन्न पालिकामा एन्टिजेन परीक्षण भइहरेको छ ।

हालसम्म एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या १९ हजार २७९ जना रहेका छन् । मेची कोभिड अस्पताल र कनकाई पिसीआर ल्याबमा गरी ८४ हजार ३१ जनाको पिसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । झापामा कूल सङ्क्रमितको सङ्ख्या २४ हजार १० पुगेकोमा एक हजार २४५ जना अस्पताल र होम आइसोलेसनमा रहेका छन् भने २२ हजार ५०१ जना निको भएर घर पठाइएको उनले बताए।

“विगतमा एकै दिन कोभिड–१९ बाट सङ्क्रमित हुनेको दर ३०० सम्म पुग्थ्यो”, उनले भने, “खोप लगाउन सुरु गरेसँगै सङ्क्रमितको दर घटेर ८० देखि ९० मा झरेको छ ।” जिल्लामा हालसम्ममा एक लाख ६२ हजार ६८० ले पूर्ण खोप लगाइसकेका प्रमुख घिमिरेले बताए ।

सम्बन्धित समाचार