२०८३ बैशाख २३ गते , बुधबार

इलाममा मेडिकल कलेज बन्ने, जग्गा व्यवस्थापनमा जुट्यो नगरपालिका

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन २ गते , शनिबार
इलाममा मेडिकल कलेज बन्ने, जग्गा व्यवस्थापनमा जुट्यो नगरपालिका

इलाम । इलाममा मेडिकल कलेज निर्माण गर्न स्वास्थ्य मन्त्रालय सहमत देखिएको छ। मन्त्रालयबाट आएको एक टोलीले इलाम अस्पताललाई आधार बनाएर त्यस आसपासको क्षेत्रमा मेडिकल कलेज बनाउन सहमति दिएको हो। मन्त्रालयको टोली र अस्पताल विकास समितिबीच भएको बैठकले इलाम नगरपालिकालाई मेडिकल कलेजका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न जिम्मेवारी दिएको जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले बताए।

‘सबै नयाँ व्यवस्थापन गर्नुभन्दा अहिले सञ्चालन भइरहेको अस्पतालको स्तर वृद्धि गरेर त्यसलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्दा सहज हुने पनि देखियो,’ बरालले भने, ‘तर इलाममा मेडिकल कलेज निर्माण गर्ने ग्यारेन्टी मन्त्रालयले दिनुपर्छ भन्ने हाम्रो प्रस्ताव छ। नत्र व्यवस्थापन गरिएको जग्गा अलपत्र पर्नसक्छ।’

मेडिकल कलेजका लागि ५०० रोपनी जग्गा आवश्यक पर्ने जनाइएको छ। यसैबीच इलाम नगरपालिकाको सोमबार बसेको नगरकार्यपालिका बैठकले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको छ। इलाम–९ का वडाध्यक्ष श्यामकृष्ण घिमिरेको संयोजकत्वमा जग्गा व्यवस्थापन समितिसमेत गठन गरिएको नगरपालिकाले जनाएको छ। वडाध्यक्षको संयोजकत्वमा विभिन्न सरोकारवाला सङ्घसंस्थासहितको जग्गा व्यवस्थापन समिति गठन गरिएको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले बताए। रासस

सम्बन्धित समाचार