२०८३ असार १५ गते , सोमबार
ओभरटेक गर्ने क्रममा बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
धरान । धनकुटाको सागुरीगढी गाउँपालिका ६ मालबाँसे स्थित कोसी राजमार्गमा बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटा शहिदभुमी गाउँपालिका ४ का ३६ वर्षीय गणेशमान राई रहेका छन् । आइतबार बेलुका पौने ५ बजे सङ्खुवासभाबाट धरान तर्फ आउँदै गरेको को १ ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको को १९ प ९४२८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार गणेशमानको धरान घोपामा उपचारको क्रममा आइतबार बेलुका पौने ७ बजे मृत्यु भएको थियो ।
मोटरसाइकल चालक इलाम चुलाचुली गाउँपालिका ६ का ३३ वर्षीय रत्न कुमार राई सामान्य घाइते भएका छन् । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।