२०८३ असार १५ गते , सोमबार

भद्रपुर नगरपालिकाको समीक्षा गोष्ठी सम्पन्न

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २७ गते , आईतबार
भद्रपुर नगरपालिकाको समीक्षा गोष्ठी सम्पन्न
भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७७-०७८ को समीक्षा गोष्ठी सम्पन्न गरेको छ । नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा झापा उद्योग सङ्घको सभा हलमा आइतबार समीक्षा गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा नगरपालिकालगायत सबै वडा र विषयगत शाखाहरूका तर्फबाट ०७७-०७८ मा भएका प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
निमित्त प्रशासकीय अधिकृत शान्तिराम भट्टराईले स्वागत र प्रशासन प्रमुख नेत्रप्रसाद पोखरेलले सञ्चालन गरेको गोष्ठीमा दशै वटा वडाध्यक्षहरूले वडाको प्रगति प्रस्तुत गरेका थिए भने विषयगत शाखाहरूका प्रमुखहरूले प्रगति विवरण प्रस्तुत गरेका थिए ।
विवरणहरू अनुसार आ. व. ०७७-०७८ मा समग्रमा ७० प्रतिशतभन्दा माथि प्रगति भएको देखिएको छ । पूर्वाधार विकासतर्फ भने झन्डै ९० प्रतिशत प्रगति हासिल भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
गोष्ठीमा चालु आर्थिक वर्षको बजेट र योजनाहरूका बारे पनि चर्चा गरिएको थियो भने यस वर्ष शतप्रतिशत प्रगति हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
उपप्रमुख चन्द्रा श्रेष्ठले वर्षको सुरुमा काममा तीव्रता दिइएको भए पनि कोरोना भाइरसको दोस्रो लहर आएपछि सोचे अनुसार काम हुन नसक्दा प्रगति प्रभावित भएको स्पष्ट पारिन् ।  नगरप्रमुख श्रेष्ठले जनप्रतिनिधिको रुपमा निर्वाचित भएर नगरपालिकाको जिम्मेवारी सम्हालेको चार वर्षे कार्यकालमा भएका महत्त्वपूर्ण उपलब्धिका बारे पनि जानकारी गराएका थिए ।

सम्बन्धित समाचार