१३ औं साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण माल्दिभ्समा आयोजना हुने पक्का भएको छ ।दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना गर्ने निर्णय गरेको हो । सोमबार बसेको साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिएको हो।
‘साफले च्याम्पियनसिप माल्दिभ्समा गर्ने निर्णय गरेको छ । किनकी कोभिड-१९ को अवस्था हाम्रो भन्दा त्यहाँ राम्रो छ’, अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिब इन्द्रमान तुलाधरले भने ।साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ । १३औं साफमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भईसकेको छ । भुटानले तीन दिनपछि निर्णय गर्ने एन्फाले जनाएको छ ।प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड १९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नयाँ आयोजक राष्ट्र चयन गरिएको हो ।
साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरेको थियो । साफको लागि नेपाली टोलीले तयारी सुरु गरिसकेको छ । बन्द प्रशिक्षणमा ३७ खेलाडी रहेका छन् ।एन्फाले साफ आयोजनाको लागि कुल १० करोड रुपैयाँ खर्चसहितको योजना पेश गरेको थियो । यस्तै नेपालमा साफ आयोजना गर्न सरकारले ५ करोड दिने निर्णय गरिसकेको थियो।साफअघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ ।