२०७८ श्रावण २२ गते , शुक्रवार

ओझेलमा परेको आदिवासी रङ्गशाला बनाउन फेरि पहल थालिने

ओझेलमा परेको आदिवासी रङ्गशाला बनाउन फेरि पहल थालिने :: Times of Pradesh

झापा । केही वर्षदेखि निर्माणका क्रममा रोकिएको झापाको कमल गाउँपालिका ५ स्थित आदिवासी रङ्गशालाको निर्माणका लागि फेरि पहल थालिने भएको छ । रङ्गशाला समितिले शनिवार मङ्गलबारेमा स्थानीय सरोकारवाला तथा दलहरूसँग अन्तरक्रिया गरी रोकिएको रङ्गशालाको कामलाई तीव्रता दिने निर्णय गरेको रङ्गशालाका महासचिव दिपेनवाला राईले बताए । तत्कालीन एमाले नेतृत्वको सरकारले रङ्गशालाका कामलाई ओझेलमा पारेर रङ्गशाला निर्माणमा चासो नदिएको भन्दै सहभागीहरूले अब सरकारको नेतृत्व फेरिएसँगै रङ्गशालाको कामलाई तीव्रता दिनुपर्ने जोड दिए ।

उनीहरूले रङ्गशालाको कामलाई छिटोभन्दा छिटो अगाडी बढाउन सरकारसँग माग गर्ने, नभए जनस्तरबाट आवश्यक प्रक्रिया अघि बढाउनु पर्ने आंैल्याए । ओली सरकार बहिर्गमन भएपछि अब रङ्गशालाको प्रक्रिया अघि बढाउन उपयुक्त अवसर भएको र सङ्घीय सरकारमा डेलिकेशन गएर काम अघि बढाउनु पर्ने उनीहरूको जोड छ ।

अन्तरक्रियामा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देउकुमार नेम्बाङ, काँग्रेसका महासमिति सदस्य सुरेश सुब्बा,क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, माओवादी केन्द्र कमलका सचिव रविन गुरुङ, अधिवक्ता विमल सङ्ग्रौला, सङ्घीय लिम्बुवान मञ्च नेपालकी केन्द्रीय सचिव विष्णु भट्टराई, मञ्चका कमल अध्यक्ष सूर्य योक्पाङदेन, प्याव्सन झापाका उपाध्यक्ष गौरीमान फागोलगायतले पछिल्ला समय ओली सरकारले रंगशलामा राजनीति गर्न खोजेको बताएका थिए । उनीहरूले आदिवासी,जनजातिका करिब ८ सय बढी चिहान भत्काएर त्यस क्षेत्रमा आदिवासी रङ्गशाला बनाउने सहमतिमाथि ओली सरकारले जालझेल गर्दै आएको बताएका थिए ।

छलफलमा रङ्गशालाका सल्लाहकारहरू दिलीप राई,नित्यानन्द ताजपुरिया,राजकुमार न्यौपाने, काँग्रेस कमलका सभापति खगेन्द्र भण्डारीलगायतले रङ्गशाला निर्माणको विषयमा बोलेका थिए । अन्तरक्रियाले रङ्गशालाका अध्यक्ष हुकुमसिंह राईको नेतृत्वमा दलीय प्रतिनिधिमण्डल काठमाडौँ जाने निर्णय गरेको छ । रङ्गशालाको भोगाधिकार र निर्माणका विषयमा आफ्ना माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवा,अर्थमन्त्री जनार्दन शर्मालगायतका उच्च अधिकारीहरुसंग भेटघाट गर्ने अध्यक्ष राईले बताए । करिब ३८ विगाह क्षेत्रफल रहेको रङ्गशालामा दशक अघिसम्म सरकारले पटक पटक बजेट विनियोजन गरी संरचनाका आधारभूत काम गरेको थियो । तर पाँच वर्षयता नामको विवादले रङ्गशाला लथालिङ्ग हुन पुगेको छ । ओली सरकारले आदिवासीको नाम हटाएर मदन भण्डारी रङ्गशालाको नाममा नै बजेट छुटाएपछि काम हुन नसक्दा दुई आर्थिक वर्षका बजेट फ्रिज भएको थियो ।

कमलको रङ्गशालामा आदिवासी जनजातिको अवरोध भएपछि ओली सरकारले त्यहाँको योजना दमकमा लगेको छ । दमक ३ स्थित हम्सेदुम्से सामुदायिक बनको बन फडानी गरी मदन भण्डारी रङ्गशाला बनाउने प्रक्रिया थालेको छ । विकासको नाममा भएका वन सम्पदा मास्न नहुने भन्दै त्यस क्षेत्रका बासिन्दाले पनि त्यहाँ विरोध जनाउँदै आएका छन्



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment